नयाँ दिल्ली। भारतमा कोभिड महामारीको सामना गर्नका लागि जारी खोप कार्यक्रमले थप एक कोशेढुङा हासिल गरेको छ। कार्यक्रमको सुरुआतदेखि लगभग १८ महिनापछि भारतमा अहिलेसम्म २ अरब भ्याक्सिन डोज लगाइएको छ।
केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मण्डावियाले एक भिडियो सन्देशमा यस उपलब्धिको निम्ति देशवासीहरू र स्वास्थ्य कर्मीहरूलाई शुभकामना र धन्यवाद दिए।
उनले भने, '१६ जनवरी २०२१ देखि सुरु भएको यस खोप कार्यक्रमले आज २०० करोड खोप लगाउने लक्ष्य हासिल गरेको छ। यो लक्ष्य हासिल गर्नु देश र देशवासीहरूको निम्ति गर्वको विषय हो। केवल १८ महिनामा हामीले यस लक्ष्यलाई हासिल गरेका छौँ। विश्वमा धेरै देश आज पनि कोभिड महामारीसित जुझिरहेका छन्। त्यही, भारतले २०० करोड खोपको लक्ष्य हासिल गरी न केवल एक कीर्तिमान स्थापित गरेको छ तर विश्वलाई एक नयाँ दिशा पनि देखाएको छ'।
डब्ल्यूएचओ दक्षिण-पूर्व एसिया क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले २ अरबभन्दा धेरै कोभिड भ्याक्सिन डोज दिनका लागि भारतलाई बधाई दिएकी छन्। उनले भनिन्, 'यो महामारी विरुद्ध देशको प्रतिबद्धता र प्रयासहरूको अझ एक साक्ष्य हो'।