श्रीलंका आर्थिक संकट: प्रधानमन्त्री र राष्ट्रपति दुवैले राजीनामा दिँदै
हाम्रा कुरा
प्रकाशित २०७९ असार २६ आइतबार
571
Shares
काठमाडौं । चरम आर्थिक सङ्कटमा डुबेको श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजपाक्षले राजीनामा दिने भएका छन् । शनिवार श्रीलंकाली संसदका सभामुख महिन्दा यापा अभयवर्धनले राष्ट्रपति राजपाक्षले जुलाई १३ (बुधबार) राजीनामा दिने बताएका हुन् ।
यसअघि वर्तमान प्रधानमन्त्री रणिल विक्रमासिङ्घेले समेत राजीनामा दिने घोषणा गरिसकेका छन् ।
श्रीलंका स्वतन्त्रता पाएयताकै गम्भीर आर्थिक सङ्कटमा डुबेको छ । सर्वसाधरणहरुले देशका राष्ट्रपति एवं प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्दै आएका बेला यसअघि प्रधानमन्त्री महिन्दा राजपाक्षेले पदबाट राजीनामा दिएका थिए ।
देशभर चलिरहेको प्रदर्शनका कारण अहिले उनका भाइ राष्ट्रपति गोटाबाय राजपाक्षले समेत राजीनामा दिने भएका हुन् । प्रदर्शनकारीहरूले शनिवार राष्ट्रपति राजपाक्षको घरमा तोडफोड गरेका थिए।
प्रदर्शनकारीहरूले त्यसपछि प्रधानमन्त्री विक्रमासिङ्घेको घरमा पनि आगजनी गरेका थिए।
अब, सभामुख अभयवर्धन अस्थायी राष्ट्रपति हुनेछन्। अभयवर्धनले श्रीलङ्काको संविधानअनुसार अब उनले केही दिन राष्ट्रपतिको पद सम्हाल्नेछन्।
सभामुख अभयवर्धनले पार्टीका नेताहरूको अनुरोध र श्रीलङ्काका जनताको सुरक्षाका लागि आफूले राष्ट्रपतिको पद सम्हाल्न लागेको बताएका छन् ।
अहिले श्रीलङ्कामा अत्यावश्यक खाद्यवस्तु, औषधिदेखि इन्धनको समेत चरम अभाव भएको छ । देशलाई आर्थिक संकटबाटमुक्त गराउन अन्तर्राष्ट्रिय मुद्रा कोषले कदम चालेको छ । तर, श्रीलंका स्थिर अवस्थातिर आउन अझै करिब २ वर्ष लाग्न सक्ने त्यहाँका वर्तमान प्रधानमन्त्री रणिल विक्रमासिङ्घेको भनाइ छ ।