arrow

चराले सफा गर्ने ‘निस्कोट बराह ताल’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २५ शनिबार
Baraha Lake.jpg

म्याग्दी । गाउँको शिरानमा जङ्गल । जङ्गलको नजिकै छ एउटा सुन्दर (पोखरी) ताल । प्राकृतिकरुपमा बनेको यो तालको भूबनोट नै अचम्मैको छ । यहाँबाट क्षितिज (आकाश र धर्ती जोडिएजस्तो देखिने ठाउँ) मा देखिन्छ हिमाल । गाउँको शिरानमा र जङ्गलको पुछारमा रहेको यो ताल कहिल्यै पनि फोहोर हुँदैन । यहाँ जङ्गलका पात पतिङ्गर परिहाले भने पनि पन्छीले चुच्चोले टिपेर बाहिर फ्याक्ने गर्दछन् ।

यो तालको नाम बराहताल हो । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-१ नम्बर वडामा पर्ने सुन्दर निस्कोट गाउँमा पुग्ने जो कोही पनि यो ताल देख्दा छक्के पर्ने गर्दछन् । ताललाई एकोहोरिएर हेरिरहँदा आफैलाई बिर्सन पुग्छन् पर्यटक । निस्कोट गाउँमा पुगेपछि घना वनजङ्गलको बीच भाग र केही मानव बस्ती रहेको ठाउँमा बराहतालको लोभलाग्दो दृश्य हेर्न पाइन्छ । 

रोमाञ्चक भ-बनोट, हरियाली र विविधताले युक्त सुन्दर गाउँ, मनमोहक प्रकृति र यही प्रकृतिको सेरोफेरोमा रहेको चित्ताकर्षक बराहतालले अहिले पर्यटकलाई पर्खिरहेको छ । पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको र मौसम खुलेको समयमा आँखै अगाडि सेताम्मे हिमालको लर्कन देखिने निस्कोटको बराहतालमा थोरै पर्यटक पुग्छन् ।

भौगोलिकरुपमा विकट र प्रचार-प्रसारको अभावमा थोरै पर्यटक पुगे पनि यहाँ पुग्ने पर्यटक मज्जाले रमाउने गर्दछन् । झण्डै दुई रोपनीको क्षेत्रफलमा फैलिएको बराहतालको आवश्यक संरक्षण, प्रचारप्रसार तथा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको स्थानीयवासी बताउँछन् । 

समुद्री सतहदेखि दुई हजार ३०० मिटरको उचाइमा अवस्थित बराहताल र तालको आसपासबाट मनोरम हिमशृंखला देखिन्छन् । बराहताल क्षेत्रबाट संसारको सातौँ तथा नेपालको दोस्रो अग्लो चुचुरो धौलागिरि हिमालको साथै गुर्जा, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मानापाथीलगायतका आधा दर्जनभन्दा बढी हिमाल र मनोरम दृष्यको प्रत्यक्षरुपमा अवलोकन गर्न सकिन्छ । बराहतालमा वन जङ्गल र हिमाल देखिने प्रतिविम्ब (छाया) समेत आकर्षकरुपमा देखिने निस्कोटका स्थानीय रमेश पुनले बताए ।

हिमालको वरिपरि लुकामारी खेलिरहने बादलको घुम्टोले अझै सुन्दरता थपिदिन्छ । पहाड र आकाश जोडिएको क्षितिजमा पर्ने हिमाल अनि तालमा देखिने हिमालको दृष्यले त्यहाँ पुग्नेलाई अचम्मित बनाउँछ । निस्कोट गाउँमा पुग्ने जो कोही पनि बराहतालको अवलोकन गर्न तथा ताललाई पृष्ठभूमिमा पारेर फोटो र सेल्फी खिच्न भनेर त्यहाँ जाने गरेका छन् । निस्कोट गाउँबाट आधा घण्टाको दूरीमा पर्ने बराहताल स्थानीयका अनुसार झण्डै २० फिट गहिरो रहेको अनुमान गरिएको छ । वन जङ्गलको बीच भागमा ताल रहे पनि त्यसमा कुनै पातपतिङ्गर हुँदैनन् । पातपतिङ्गर परेमा चराले सफा गर्छन् ।

बराहतालमा बिहान सबेरै दुईवटा जलहाँस जलक्रिडा गर्न आउने गरेको स्थानीयवासीले अनुभव सुनाउँछन् । छिमेकी जिल्ला बागलुङको ताराखोला जोड्ने पदमार्गमा पर्ने पर्यटकीय महत्वको तालको आवश्यक प्रचार-प्रसार गर्नुपर्ने स्थानीयको भनाइ छ । निस्कोट गाउँको डाँडाबाट छिमेकी ओखरबोट, रुमलगायत अन्य गाउँको आकर्षक दृश्य देखिन्छन् ।

निस्कोट गाउँ पर्यटनका साथसाथै कला र संस्कृतिमा पनि धनी छ । मगर समुदायको बाहुल्यता रहेको निस्कोटमा लोपोन्मुख यानीमाया, सुनीमाया, सालैजोजस्ता गीतह सुन्न पाइन्छ । बराहताल र निस्कोट गाउँको सुन्दरताले पर्यटकको मन लोभ्याइरहन्छ ।

बराहताल मुख्य आकर्षणको रुपमा रहेको निस्कोटमा पछिल्लो समय स्वदेशी पर्यटक भ्रमण गर्नका लागि पुग्ने गरेका छन् । बराहतालको पर्यटन प्रवर्द्धन गर्नका लागि वडा र पालिकामार्फत आवश्यक पहल गरिने निस्कोटका वडाध्यक्ष टङ्कप्रसाद पुनले बताए । प्रशस्तै पर्यटकीय सम्भावना रहेको भए पनि यस तालको बारेमा प्रचार-प्रसार हुन नसक्दा ओझेलमा परेको वडाध्यक्ष पुनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ