बागलुङ । बागलुङ जिल्लाका २७ वडा मनसुनजन्य प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका छन् । जिल्लाभर रहेका दश स्थानीय तहका ८५ वडामध्ये २७ वडा उच्च जोखिममा रहेको पाइएको हो । जिल्ला विपत व्यवस्थापन समिति बागलुङले बर्खाको समयमा हुन मनसुनजन्य प्राकृतिक प्रकोपको स्तरीकरण तथा जोखिम क्षेत्र सूचीकृत गर्दै २७ वडालाई उच्च जोखिममा राखेर सतर्कता अपनाउन भनेको छ ।
विपत् व्यवस्थापन समितिले प्रकोपको स्तरीकरण, सङ्कटासन्नता पहिचान, निकायगत भुमिका निर्धारण, मनसुनको बेला हुन सक्ने पहिरो, बाढी, चट्याङजस्ता प्रकोपबाट स्थानीय तहका वडामा पर्ने उच्च जोखिम, मध्यम जोखिम र निम्न जोखिममा पर्ने स्थानीय तहका वडाको स्तरीकरण गरेको हो ।
प्रकोपको स्तरीकरण गर्दा पहिरोको प्रकोप एक नम्वरमा परेको छ । विगत वर्षहरुको बाढी पहिरोको प्रवृत्तिलाई विश्लेषण गर्दा बडिगाड गाउँपालिकाको बडिगाड खोलाको तटीय वस्ती, काठेखोला गाउँपालिका-५ बिहुँ काउले क्षेत्र, बरेङ गाउँपालिका-१ र ४ वडा, निसीखोला गाउँपालिका-७, गलकोट नगरपालिका-१,२ र ३ गौदी खोला र दरमखोलाका तटीय क्षेत्र बागलुङ नगरपालिका-१ मालढुङ्गादेखि कालीगण्डकी नदीका तटीय क्षेत्र, जैमिनी नगरपालिकाका कालीगण्डकी नदीका तटीय क्षेत्र, काठेखोला गाउँपालिका-२ अछेते बजार, दोबिल्ला क्षेत्र र तमान गाउँपालिकाको बोङ्गादोभान क्षेत्र उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी दिए ।
पहिरोको प्रकोपबाट अधिकांश स्थानीय तहका वडा प्रभावित भएको तथ्याङ्क छ । स्थानीय तहबाट प्राप्त विवरणको आधारमा २७ वटा वडा उच्च जोखिममा, ३१ वडा मध्यम जोखिम र १७ वडा निम्न जोखिममा छन् । यस वर्षको मनसुनमा पहिरो प्रकोपको कारणले ३० हजार जनसङ्ख्या प्रभावित हुने सम्भावना उल्लेख गरिएको छ ।
पहिरोको जोखिममा रहेका झण्डै २० विद्यालय पहिरोको कारण पूर्ण तथा आंशिकरुपमा भत्किएर पठनपाठनमा वाधा पुग्न आँकलन गरिएको छ । पहिरो गएको ठाउँमा उद्घार तथा राहतको लागि तुरुन्तै स्थानीय तह, नेपाली सेना, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीको उद्घार टोली घटनास्थलमा पठाउने निर्णय भएको छ । यदि ठूलो नै पहिरो गएर धेरै जनसंख्या प्रभावित भएको छ भने तुरुन्तै बहुक्षेत्रगत द्रुत लेखाजोखा टोली घटनास्थलमा पठाई विस्तृत सूचना सङ्कलन गर्ने निर्णय भएको प्रजिअ ढकालको भनाइ छ ।
सूचना सङ्कलनको आधारमा स्थानीय तह र विषयगत क्षेत्र अगुवाले राहत तथा उद्घारसम्बन्धी कार्य सुरुआत गर्ने, स्थानीय तह र नेपाल रेडक्रस सोसाइटीले अस्थायीरुपमा बसोबास मिलाउनको लागि कार्य गर्ने साथै प्रभावितको लागि अस्थायी टहरा वा सुरक्षित आश्रयस्थलमा राख्ने व्यवस्था मिलाउने तयारी गरिएको छ ।