गलकोट । कलिलै उमेरमा ढोरपाटन नगरपालिका वडा नं. ५ पाखापानीका हिमालकुमार पुनलाई आर्थिक समस्याले इराक पुर्यायो । विसं २०६४ मा एसएलसी पास गरेका उनको क्याम्पस पढ्ने सपना आर्थिक अभावका कारण अधुरै रह्यो । काठमाडौँमा क्याम्पस पढ्न गएका पुन कमाउनका लागि इराक पुगे । सानै उमेरमा आर्थिक समस्याका कारण इराक पुगेका उनलाई इराक पुगेपछि मात्रै थाहा भयो इराक नेपालीका लागि प्रतिबन्धित देश हो भनेर । दुई वर्षकालाई त्यहाँ पुगेका पुनलाई इराकले साढे सात वर्ष भुलायो । त्यहाँ काम निकै गाह्रो भए पनि अर्थोपार्जन भने राम्रै भएको उनको भनाइ छ ।
“पढ्ने निकै रहर थियो तर काठमाडौंको खर्च थान्नै धौ धौै भएकाले मध्यमवर्गी परिवारका कारण समस्यामा म परेँ”, पुन भन्छन्, “कलेज पढ्ने काम अधुरै राखेर इराक हानिए, इराक गएपछि मात्रै थाहा भयो यहाँ आउन निषेध गरिएको रहेछ तर आइसकेपछि कमाउनु त पर्यो, दैनिकजसो गोला बारुदका बीचमा बल्लतल्ल बाँचेर आइयो, नेपालमा आएपछि विदेश नजाने सोचका साथ व्यावसायिक क्षेत्रमा पाइला चालेको हुँ तर जाँगर गरे युरोपमा बगाइने पसिना यही यही बगाए कमाउन सकिने रहेछ ।”
एकतीस वर्षीया उनी इराकमा साढे सात वर्ष दुःख र ज्यानको बाजी नै लगाएर भए पनि कमाइ राम्रै भएको बताउछन् । “इराकमा मासिक रु एक लाखदेखि एक लाख ५० हजारसम्म कमाइ थियो तर के गर्नु आफ्नै अगाडि धेरै साथीको ज्यान गयो तर आफू भने बाँचेर आइयो”, विगत समरण गर्दै पुन भन्छन्, “विदेशबाट आएपछि आफ्नै जग्गा सदुपयोग गरेर किबी खेती गर्न थाले, त्यसलगत्तै बहुआयामिक व्यावसायिक सोचका साथ व्यवसायमा तल्लीन छु ।”
विसं २०६६ मा इराक गएका पुनले इराकबाटै भाइ मानसिंहलाई बारीमा कोदो मकै मासेर किबीका बिरुवा लगाउन सुझाए । उनले विदेशमा निकै दुःख भएको भन्दै भाइ पुनलाई किबीखेतीतर्फ विदेशबाटै आकर्षित गराए । भाइ मानसिंह पेसाले स्वस्थ्यकर्मी छन् । उनको आफ्नै क्लिनिक छ । फुर्सदको समयमा मानसिंह दाइको व्यवसायमा साथ दिन्छन् । विसं २०७६ मा विदेशबाट फर्केर आउँदा उनको साढे नौ रोपनी जग्गामा किबीका बिरुवा हुर्किरहेका थिए । तीनसय किबीका बिरुवा रु १५० का दरले खरिद गरेर मानसिँहले रोपिसकेका छन् ।
आफू विदेशबाट फर्केर आएपछि बहुआयामिक व्यावसायिक काम गर्ने सोचका साथ अगाडि बढेको पुन बताउछन् । विसं २०७६ बाट उनले स्वरोजगार बहुउद्देश्यीय कृषि तथा पशु फर्म स्थापना गरेपछि ७५ वटा बाख्रा पाल्दै आएका छन् । उनको फर्ममा क्रस बोयर जातका बाख्रा तथा बोका छन् । पुनले मासुको उत्पादन बढाउनका लागि सबै बाख्रालाई बोयर बनाउने उद्देश्य राखेका थिए । उनको आफ्नै १०० रोपनी जग्गा छ । तीन स्थानमा ३५ रोपनी, ४७ रोपनी र १८ रोपनी जग्गामा पुनको कृषि तथा पशुपालन हुँदै आएको छ । अठार र ३५ रोपनी जग्गा उनको पुर्ख्यौली सम्पति हो भने ३५ रोपनी जग्गा इराकमा कमाइएको रकमले हालै खरिद गरिएको हो ।
पुनले हालै मात्र १० रोपनी जग्गामा व्यावसायिक केराखेती शुरु गर्नाका साथै व्यावसायिकरुपमा खरायो पालन र अकबरे खुर्सानी खेतीकोसमेत शुरुआत गरेको छ । स्थानीय जातको मुङ्ग्रे जातका ४०० केराका बोट लगाइएको र मकै तथा कोदो हुने खेतबारीमा अहिले किबी र केराखेती फष्टाउने क्रममा छ । स्वरोजगार फर्मबाट बोका र किबी बिक्री गरेर आम्दानी हुन थालेको छ ।
“एउटै व्यवसायबाट मनग्य आम्दानी नहुँदो रहेछ, बहुउद्देश्यीय काम गर्दा आम्दानी बढी हुने देखियो, अहिले विस्तारै किबी र बाख्रापालनबाट सफलता हासिल गर्दै आएको छु”, पुन भन्छन्, “आफूले आफ्नो फर्मलाई प्रयोगशाला बनाउँदै आएको छु, विकट गाउँमा कृषि प्राविधिकको अभावै छ तर आफैँले परीक्षण गर्ने र सफलता पनि प्राप्त गर्ने गरेको छु ।”
जग्गा खरिद, आधुनिक बाख्रा फर्म विस्तार, किबीको थाक्रालगायतको व्यवस्थापनका लागि रु एक करोड बढी लगानी गरिसकेको उनी बताउछन् । गत वर्ष पहिलोपटक चार क्विन्टल किबीको फल बिक्री गरेका उनको फर्ममा २५ खरायो, ५० वोट एबोकाडो र दुई रोपनी जग्गामा अकबरे खुर्सानी खेती गरिएको छ । “आगामी वर्षदेखि पूरै फर्मबाट वार्षिक रु दश लाखदेखि १२ लाख आम्दानी गर्ने लक्ष्य छ, मैले कामदार राखेकोे छैन, बुबाआमा र भाइले केही सघाएका छन्, बिहान ५ बजेदेखि बेलुकासम्म आफैँ खटेको छु, विदेशमा गर्ने दुःख सम्झँदा यहाँको दुःख केही लाग्दैन”, पुन भन्छन् ।
नेपालमा कृषि पेसा गर्नेलाई सरकारले हेरेन भनेर बस्ने दिन गएको बताउँदै आफ्नो व्यवसयाय सञ्चालन गरे विस्तारै सहयोग आउने उनको विश्वास छ । कृषि ज्ञान केन्द्रबाट किबीको थाक्रोका लागि रु एक लाख ५० हजार र पशु विज्ञ केन्द्रबाट बाख्राको आधुनिक खोरका लागि रु एक लाख पाँच हजार अनुदान प्राप्त गरेको पुन बताउछन् ।
चरन क्षेत्रको राम्रो सम्भावना भएकाले वर्षमा ५० देखि १०० खसी/बोका बिक्री गर्नसके युरोप तथा अमेरिकाको कमाई गाउँमै गर्न सकिने उनको भनाइ छ । पुनका ८४ वर्षीय बाबा पूर्णबहादुर र आमा नरमलाले व्यवसायमा उत्तिकै साथ तथा सहयोग गरेका छन् । पुनकी श्रीमती विज्ञान सङ्कायमा काठमाडौंमा स्नातकोत्तर तहमा अध्ययनरत छन् । श्रीमतीलाई समेत आफ्नै व्यवसायमा लगाउने सोच बनाएको उनी बताउँछन् ।