arrow

बन्दीपुर आउने पर्यटकको गणना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
Bandipur-.jpg

तनहुँ । बन्दीपुर गाउँपालिकाले बन्दीपुरमा आउने पर्यटकको गणना गर्ने भएको छ । कुन देशका कति पर्यटकले बन्दीपुरमा भ्रमण गरे भन्ने तथ्याङ्क सङ्कलनमा सहज गराउने उद्देश्यले गणना गर्न लागिएको हो  । 

देश विदेशबाट बन्दीपुर घुम्न आउने पर्यटकलाई  व्यवस्थित गर्ने उद्देश्यले पर्यटन सूचना केन्द्र स्थापनासमेत गर्न लागिएको गाउँपालिकाले जनाएको छ । होमस्टे र होटलको एकीकृत जानकारी गराउन पर्यटन सूचना केन्द्र स्थापना गर्ने लक्ष्य लिइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए ।

मुकुन्देश्वरी पदमार्ग निर्माणलाई निरन्तरता दिँदै हाफ म्याराथन र साइक्लिङ जस्ता प्रतियोगितालाई निरन्तरता दिइने छ । उनले भने, “पालिकाभित्र रहेका पर्यटकीय गाउँ प्राथामिकताको आधारमा नमूनाको रुपमा विकास गर्दै लगिने छ ।” गण्डकी प्रदेशको दोस्रो पर्यटकीय गन्तव्य एवं पहाडकी रानीको नामले परिचित रहेकोले बन्दीपुर मातहतमा रहेका छ वटै वडामा पर्यटकीयस्थलको दीगो विकास गरी संरक्षण एवं प्रवर्द्धन गर्ने योजना रहेको छ । 

गाउँपालिका भित्र पर्यटकीय केन्द्र निर्माण गर्नाका साथै पर्यटन ऐन बनाई नियमन गर्ने नीति पारित गरिएको गाउँपालिकाले  जनाएको छ । बन्दीपुर बजार क्षेत्रलाई विशेष संरक्षित क्षेत्र घोषणा गरी संरक्षण र संवर्द्धन गरिनेछ । पालिकाभित्र रहेका पर्यटनसँग आवद्ध संस्थालाई सक्रिय र सङ्गठित बनाउँदै पर्यटन गतिविधि सञ्चालन गर्ने नीति गाउँपालिकाको छ । 

उज्याले बन्दीपुरअन्तर्गत उज्याले गाउँ अभियान सञ्चालन गर्दै सिद्ध गुफा, पातलद्वारी गुफा, हुस्लाङकोट दरबार मुकुन्देश्वरी पदमार्ग, चन्द्रकोट गढी, थानीमाई, भुकभुकेलगायत पर्यटकीय स्थलको संरक्षण र संवर्द्धन र प्रवर्द्धन गरिनेछ ।

पर्यटन लक्षित उत्पादन प्रवर्द्धनलाई प्रोत्साहन गरी थप रोजगारी सिर्जना गर्ने, होमस्टेको संरक्षण संवर्द्धन र प्रवर्द्धन गरी होमस्टे सर्किटको विकास गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी दिए । साहसिक पर्यटन जीप फ्लाइङ, प्याराग्लाइडिङ्ग र रक क्लाइमिडको सम्भाव्यता अध्ययन गरी पर्यटकीय क्षेत्रको विकासमा जोड दिइनेछ ।   

पर्यटकीय नगरी बन्दीपुर बजारमा रहेका बिध्दावासिनी मन्दिरबाट भइसेखार, खड्कमाई र टुँडिखेलसम्म ढुङ्गा छपनी कार्य सम्पन्न गरी पर्यटन प्रवर्द्धन कार्यलयाई सबल बनाउने नीति गाउँपालिकाकोे छ । सहरी क्षेत्रका मात्रै नभइ ग्रामीण होमस्टेको प्रवर्द्धन गर्न होमस्टे मार्ट सञ्चालन गर्ने लक्ष्य पनि रहेको गाउँपालिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ