arrow

महिलालाई उद्यमी बनाउन तालिम

logo
रमेश विश्वकर्मा, 
प्रकाशित २०७९ असार १६ बिहिबार
mahila-talim-gulmi-2079.jpg

गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका ५ र ६ का महिलाहरुलाई जिविकोपार्जनका लागि उद्यमी बनाउनका लागि ब्याग बनाउने र तरकारी खेती सम्बन्धी तालिम दिइएको छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा रेसुङ्गा नगरपालिकाको आयोजनामा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत १५ दिने लेडिज ब्याग बनाउने र ७ दिने तरकारी खेती सम्बन्धी तालिम दिइएको हो ।

“उत्पादन गरौं आत्मनिर्भर बनौं, समृद्ध रेसुङ्गा हामी मिली बनाऔं” भन्ने मुल नाराका साथ गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत महिलाहरुलाई आत्मनिर्भर मात्र नभएर उद्यमशीलता र स्वरोजगार बनाउन यो तालिम दिइएको हो । तालिम समापनमा रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले तालिमबाट सिकेका कुराहरु भरपुर रुपमा प्रयोगमा ल्याउन आग्रह गरे । उनले सबै आत्मनिर्भर, उद्यमी र स्वरोजगार भएमा सजिलै समुन्नत रेसुङ्गा निर्माण हुने बताए । 

आव ०७९–०८० को नीति तथा कार्यक्रममा नगरपालिकाले मेयरसंग स्वरोजगार कार्यक्रम समावेश गरेको बताए । ‘साहसका साथ तपाईंहरु निरन्तर काम गर्नुस्’, नगरप्रमुख पन्थीले भने, ‘हजुरहरुले निर्माण गर्नुभएको सामग्रीहरुको बजारीकरणको लागि रेसुङ्गा नगरपालिकाले जिम्मा लिनेछ ।’

परम्परागत ढङ्गबाट नभएर आधुनिक ढङ्गले तपाईंहरु निरन्तर आफ्नो पेशा व्यवसायमा लाग्नुस्, कुनै केही समस्या आएमा नगरपालिकालाई भन्नसमेत आग्रह गरे । नगरपालिका सधै जनताको साथमा रहेको उनले आश्वासन दिए । 

घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका कार्यालय प्रमुख लक्ष्मण घिमिरेले छिट्टै समुह दर्ता गरेर काम गर्न आग्रह गरे । सिकेको सीपलाई भरपुर व्यवहारमा लागू गर्नेगरी व्यवसायिक रुपमा लाग्न उनले आग्रह गरे । त्यस्तै वडाध्यक्ष दुर्गाप्रसाद खनालले तालिमबाट सिकेको सिपलाई निरन्तर प्रयोग गर्नुपर्ने बताए ।

“अहिले दिनमा चार प्रकारका ब्यागहरु बनाउन सक्छौं । हामीलाई तत्काल मेशिन र कच्चापदार्थको आवश्यकता छ,” तालिममा सहभागी महिलाहरुले भने, “यत्तिकै छोडियो भने बिर्सन सक्छौं ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ