arrow

‘गण्डकी प्रज्ञा उत्सव’ शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १० शुक्रबार
pargya 3.jpg

पोखरा । ‘गण्डकी प्रज्ञा उत्सव’ बिहिबारबाट पोखरामा शुरु भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको उत्सवको गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कार्यक्रमकाबिच औपचारिक रुपमा शुभारम्भ गरे ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खडका बिखर्चीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गुरुङ, कवि तथा कलाकार रमेश श्रेष्ठ, उपकुलपति गोरे गुरुङ तथा कार्यक्रम संयोजक सुरेन्द्र गुरुङ बोलेका थिए । 

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानको कार्यालय परिसरमा निर्माण गरिएको पुस्ताकालय र लोकबाजा संग्राहलयको उद्घाटनसमेत गरिएको थियो । गण्डकी प्रज्ञा प्रतिष्ठानको बार्षिक उत्सवका सन्दर्भमा आयोजित उत्सव शनिबारसम्म चल्नेछ ।

उत्सवको पहिलो दिन आर्ट कार्यशाला आयोजना गरियो । कार्यशालामा बरिष्ठ कलाकार गोपाल श्रेष्ठ, प्राज्ञ रमेश श्रेष्ठ, यादवचन्द्र भुर्तेल, आलोक गुरुङ सहितका गण्डकी प्रदेशका बिभिन्न जिल्लाका २० जना कलाकारको सहभागिता रहेको थियो ।

दोस्रो दिन शुक्रबार गजल, कविता, मुक्तक र लघुकथा बाचन तथा “धनीरामको गोरु” नाटक मञ्चन हुनेछ । यस कार्यका लागि पोखरेली यूवा सांस्कृतिक परिवार, मुक्तक मञ्च कास्की, गजल सन्ध्या कास्की, लघु कथा प्रतिष्ठान नेपाल र इन्द्रेणी थिएटरसँग सहकार्य हुने प्रतिष्ठानको भनाई छ । साहित्यिक कार्यक्रमतर्फ रमेश श्रेष्ठ र लक्ष्मी थापाका कविता, मन क्षेत्रीका गजल, कपिल शर्माका मुक्तकका अलावा लघु कथासमेत सुन्न पाइनेछ । नाटक दिउँसो ४ बजे मञ्चन हुनेछ ।

केदारनाथ पौडेलले लेखेको नाटक ‘धनीरामका गोरु’ कपिल शर्माको निर्देशनमा तयार हुनेछ। नाटकमा राजेन्द्र अधिकारी, ज्योती हमाल, विभू भुषाल, प्राञ्जल, नीलम तामाङ, आकाश दाहाल, अनिल तिमिल्सिना, विजय अधिकारी, विनोद पौडेल, विकाश पौडल, प्रमिशा सिलवाल लगायतको अभिनय हेर्न पाइनेछ ।

अन्तिम दिन असार ११ गते विविध सांस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम हुने प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए । जसअनुसार गण्डकी प्रज्ञा संगीत सम्मानबाट गोरखाका आलोकश्री, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका यादव चन्द्र भुर्तेल, गण्डकी प्रज्ञा नृत्य सम्मानबाट म्याग्दीकी धनकुमारी थापा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट नवलपुरका गोविन्द विनोदी, गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट नवलपुरका पुष्परत्न महतोलाई सम्मान गरिनेछ । यसका अलावा १४ जना अनुसन्धानकर्तालाई प्रशंसा पत्रद्वारा सम्मान गर्ने कार्यक्रमसमेत रहेको सदस्य सचिव श्रेष्ठको भनाई छ ।

कार्यक्रममा कलाकारहरु हरिदेवी कोइराला, राजु परियार, राजु गुरुङ, पार्वती जिसी, कर्णदास, बाबा राणा, रामभक्त जोजिजु र हार्मोनी गुप्र पोखराको विशेष प्रस्तुति रहनेछ । यसैगरी राजबहादुर गुरुङ, विनोद बानियाँ, सन्तोष बस्याल, प्रिया गुरुङ, उषा गुरुङको प्रस्तुति समेत हेर्न पाइनेछ  ।

तरेली सांस्कृतिक परिवारको नृत्य, झलकमान गन्धर्व पाठशालाको लोक धुन, बुद्धिमान दुरा “धम्पु” समूहको ठाडो भाका र थारु समुदाय, नेवा समुदाय, गुरुङ समुदाय, ब्राह्मण समुदाय, मगर समुदाय र क्षेत्री समुदायको झाँकीसमेत प्रदर्शन हुनेछ । 

उत्सव अवधिभर पृथ्वीनारायण क्याम्पस विज्ञान संकायका विद्यार्थीको तर्फबाट विज्ञान तथा प्रविधि प्रदर्शनसमेत गरिने प्रतिष्ठानले जनाएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना २०७८ बैशाख १५ गते भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ