arrow

‘गण्डकी प्रज्ञा उत्सव’ को तयारी पूरा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ८ बुधबार
gandaki 1.jpg

 

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने ‘गण्डकी प्रज्ञा उत्सव’ कार्यक्रमको तयारी पूरा भएको छ । आयोजकले पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार उत्सव यहीँ असार ९ गतेबाट ११ गतेसम्म प्रतिष्ठानकै प्राङ्गण पोखरा १ बगर उपल्लो क्याम्पस गेटमा हुनेछ ।

उत्सव अन्तर्गत पहिलो दिन असार ९ गते विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी २० जना कलाकारद्वारा पर्यटन, संस्कृति, धार्मिक सम्पदाको बारेमा चित्र कोरिने प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

असार १० गते गजल, कविता, मुक्तक र लघुकथा वाचन तथा “धनिरामको गोरु” नाटक मञ्चन हुनेछ । यसका लागि पोखरेली युवा सांस्कृतिक परिवार, मुक्तक मञ्च कास्की, गजल सन्ध्या कास्की, लघु कथा प्रतिष्ठान नेपाल र इन्द्रेणी थिएटरसँग सहकार्य हुने प्रतिष्ठानको भनाई छ । साहित्यिक कार्यक्रम तर्फ रमेश श्रेष्ठ र लक्ष्मी थापाका कविता, मन क्षेत्रीका गजल, कपिल शर्माका मुक्तकका अलावा लघु कथा समेत सुन्न पाइनेछ । नाटक दिउँसो ४ बजे मञ्चन हुनेछ ।

अन्तिम दिन असार ११ गते विविध सांस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम हुनेछ । जसअनुसार गण्डकी प्रज्ञा सङ्गीत सम्मानबाट गोरखाका आलोक श्री, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका यादव चन्द्र भुर्तेल, गण्डकी प्रज्ञा नृत्य सम्मानबाट म्याग्दीकी धनकुमारी थापा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट नवलपुरका गोविन्द विनोदी, गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट नवलपुरका पुष्परत्न महतोलाई सम्मान गरिनेछ । यसका अलावा १४ जना अनुसन्धानकर्तालाई प्रशंसा पत्रद्वारा सम्मान गर्ने कार्यक्रम समेत रहेको प्रतिष्ठानले जनाएको छ ।

गण्डकी प्रज्ञा उत्सवमा हुने सांस्कृतिक कार्यक्रममा कलाकारहरू हरिदेवी कोइराला, राजु परियार, राजु गुरुङ, पार्वती जिसी., कर्णदास, बाबा राणा, रामभक्त जोजिजु र  हार्मोनी गुप्र पोखराको विशेष प्रस्तुति रहनेछ । यसै गरी राजबहादुर गुरुङ, विनोद बानियाँ, सन्तोष बस्याल, प्रिया गुरुङ, उषा गुरुङको प्रस्तुतिसमेत तहाँ सुनन पाइनेछ ।

तरेली सांस्कृतिक परिवारको नृत्य, झलक मान गन्धर्व पाठशालाको लोक धुन, बुद्धिमान दुरा “धम्पु” समूहको ठाडो भाका र थारु समुदाय, नेवा समुदाय, गुरुङ समुदाय, ब्राह्मण समुदाय, मगर समुदाय र क्षेत्री समुदायको झाँकी समेत प्रदर्शन हुनेछ । उत्सव अवधिभर पृथ्वीनारायण क्याम्पस विज्ञान सन्काएका विद्यार्थी कोतर्फबाट विज्ञान तथा प्रविधि प्रदर्शनसमेत गरिनेछ ।

कार्यक्रम गर्नुको मुख्य उद्देश्य नयाँ पुस्ताहरूलाई मौलिक संस्कृतिको बारेमा जानकारी दिन तथा उनीहरूमा अभिरुचि प्रदान गर्न भएको सदस्य सचिव श्रेष्ठले बताए । निरन्तर यसै क्षेत्रमा लागेकाहरूलाई सम्मान मार्फत हौसला बढाउन मात्र नभएर स्रष्टाहरूलाई एकेडेमीसँग साक्षात्कार गराउने कार्यक्रमको लक्ष्य रहेको उनले बताए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानले साहित्यका सबै विधालाई महत्त्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवर्धन गर्न क्रियाशील बन्ने उपकुलपति गोरे गुरुङले बताए । ‘प्रज्ञा उत्सव’ कार्यक्रममा सहभागी भई रौनकता प्रदान गरिदिन सबैमा उनको आग्रह छ । आगामी वर्षदेखि वार्षिक उत्सवको अवसरमा यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिष्ठानले जनाएको छ । मुख्य कार्यक्रम प्रतिष्ठानले हालै निर्माण गरेको भानु हलमा हुने कुलपति सूर्य खड्का बिखर्चीले बताए ।

प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उपकुलपति गोरे गुरुङ, सदस्य सचिव मनकुमार श्रेष्ठले बोलेका थिए भने कार्यक्रमको सञ्चालन प्राज्ञ सुरेन्द्र गुरुङले गरेका थिए । गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना २०७८ वैशाख १५ गते भएको थियो । स्थापना भएको छोटो समयमानै प्रतिष्ठानले विभिन्न महत्त्वपूर्ण कार्यक्रम आयोजना गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ