- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल अमेरिकामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानसँग पराजित भएको छ । टेक्ससस्थित मोसा क्रिकेट मैदानमा शुक्रबार बिहान सम्पन्न खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो ।
ओमानले दिएको २१२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा अलआउट हुँदै १९८ रनमा समेटियो । आरिफ शेखले ६६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । आरिफले ७९ बल खेलेका थिए ।
देव खनालले ३४, रोहित पौडेलले २०, दिपेन्द्र सिंह ऐरीले १६, विनोद भण्डारीले १४, सोमपाल कामीले १३, डेब्यु खेलाडी सुनिल धमलाले १२, करण केसीले ८, सुवास खकुरेलले ३, कप्तान सन्दीप लामिछानेले २ रन बनाउँदा सुशन भारीले रनको खाता खोल्न सकेनन् ।
ओमानका जिसन मक्सुद र खवर अलीले ३–३ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर २११ रन जोडेको थियो । कप्तान जिसन मक्सुदले अविजित रहँदै १२६ बलको सामना गर्दै १०४ रन बनाए ।
नेपालका करण केसीले ३८ रन खर्चिएर ५ विकेट लिए । उनी सोमपाल कामी र सन्दीप लामिछाने पछि एकदिवसीय अन्तर्राष्ट्रियको एकै खेलमा ५ विकेट लिने नेपालका तेस्रो खेलाडी बने ।
यस्तै सन्दीपले २ तथा सोमपालले १ विकेट लिए । नेपालले पहिलो बलमै विकेट लिए पनि ओमानलाई कम योगफलमा रोक्न सकेन ।
हारसँगै नेपाल १३ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ओमान ३४ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
अब नेपालले दोस्रो खेलमा अमेरिकाविरुद्ध शनिबार खेल्नेछ ।
नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्नेछ ।