- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । छोराका हत्यारालाई कारबाहीको माग गर्दै गंगामाया अधिकारी अनसनमा बसेको सोमबार जेठ २३ गते डेढ महिना नाघिसकेको छ । उनले गत बैशाख ९ गतेदेखि अनसन थालेकी थिइन् ।
सशस्त्र द्धन्द्धका बेलामा माओवादीले उनका छोरा कृष्णप्रसादको हत्या गरेको थियो । हत्याको जिम्मेवारी माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले लिएकै थिए । उनले विभिन्न समयक्रममा सशस्त्र द्धन्द्धमा माओवादीले मारेका सबैको जिम्मा लिएकै हुन् ।
तर गोरखाकी यी गंगामायाले न्याय पाइनन् । हत्या आरोपमा संलग्न १३ मध्ये १२ जनाले त अदालतबाट सफाइ नै पाइसकेका छन् । छोराका हत्यारालाई कारबाहीको माग गर्दै आमरण अनसनमा बस्दा गंगामायाका पति नन्दप्रसाद अधिकारीको ३३४ औं आमरण अनसनपछि २०७१ साल असोज ६ गते निधन भएको थियो ।
उनको शवको दाहसंस्कार अहिलेसम्म भएको छैन । छोराका हत्यारालाई कारबाही नभएसम्म पतिको दाहसंस्कार नगर्ने अड्डी गंगामायाले कसेसँगै कसैले पनि उनलाई न्याय दिन सकेन ।
शिक्षण अस्पताल महाराजगञ्जस्थित शवगृहमा उनको शव रहेको दाबी गरिए पनि अहिलेसम्म शव छ कि छैन यकिन छैन । अधिकारकर्मीहरुले गंगामायालाई सान्त्वना दिए पनि अहिलेसम्म कुनै ठूलो लडाइँ लड्न सकेका छैनन् ।
पटक पटक सरकारले उनलाई आह्वासन दिने गरे पनि उनको माग भने पूरा भएको छैन । पटक पटक उनी अनसन बस्छिन् । उनको जीवन वीर अस्पतालमै कटिरहेको छ । तर कसैले वास्ता गरेका छैनन् । सम्बन्धित निकाय चुप लागेर बसेपछि उनी जस्ताले पाउने दुःख नै रहने भए पनि यो मुद्दाको छिनोफानो हुने सम्भावना न्यून छ ।
उनी निकै समय थला पर्छिन् । आमरण अनसन बस्दा शरीरले राम्रोसँग साथ दिएको हुँदैन । तर के गरुन् उनी । बस् उनका लागि अस्पतालका क्याबिन फेरिन्छन् । फेरिन्न त उनको अडान । सरकार निरीहता देखाउँछ ।
यसअघि उनले आफूले नेपालबाट न्याय नपाए अन्तर्राष्ट्रिय अदालतमा जाने पनि बताएकी थिइन् । तर कसले पुर्याउने उनलाई त्यहाँ ? कोही अगाडि पर्दैनन् ।
उनलाई उचालेर शुरुआती चरणमा आमरण अनसनमा बसाउने कतिपय अधिकारकर्मीहरुले त उनको साथ छाडेको वर्षौं भइसकेको गंगामायाको गुनासो छ ।
तर यसपालि पनि ४६ दिन भइसकेको छ । सरकारलाई थाहा छ कि छैन कुन्नि ! सोमबार उनलाई एकतमासले वीरअस्पतालको बाहिर प्रांगणबाट हेरिरहेका एक वृद्ध (सम्भवतः उनी पनि बिरामी नै जस्ता लाग्छन्) ले भने, ‘यहाँ कसलाई छ उनलाई हेर्ने फुर्सद । सरकारलाई यस्ता कुरा था’हुन्नन् । चुनाउ सक्या छ । अब आर्को चुनाउ हुन्छ । आर्को नेता आउँछ । आउँछन् जान्छन् । केही हुन्न याँ । मरेपछि टन्टै साफ ।’
उनले आफ्नो परिचय भने दिएनन् । तर अनुहारमा चमक थिएन । निराश थिए ।