सर्लाही। सर्लाहीका २० स्थानीय निकायलाई सङ्घीय सरकारले करिब सवा सात अर्ब बजेट विनियोजन गरिएको छ। जेठ १५ गते संसद्मा प्रस्तुत आर्थिक वर्ष २०७९-८० को बजेटमा जिल्लाका २० स्थानीय निकायलाई सङ्घीय सरकारले रु सात अर्ब १८ करोड १५ लाख अर्ब बजेट विनियोजन गरेको हो।
एघार नगरपालिका र नौ गाउँपालिका)मध्ये सबैभन्दा धेरै बजेट लालबन्दी नगरपालिकाले पाएको छ। लालबन्दीका लागि रु ६४ करोड चार लाख, हरिवनका लागि रु ५७ करोड ७७ लाख, ईश्वरपुरका लागि रु ४७ करोड ३९ लाख, बरहथवाका लागि रु ४७ करोड २५ लाख, गोडैताका लागि रु ४५ करोड ३२ लाख, मलङ्गवाका लागि रु ४३ करोड ८१ लाख, बलरका लागि रु ४० करोड ७९ लाख, बागमतीका लागि रु ३८ करोड ४२ लाख, कविलासीका लागि रु ३७ करोड २९ लाख र हरिपुरका लागि रु ३२ करोड ४२ लाख र हरिपूर्वा नगरपालिकाका लागि रु ३१ करोड ३२ लाख बजेट विनियोजन भएको हो।
जिल्लाका नौ गाउँपालिकामध्ये सबैभन्दा धेरै विष्णु गाउँपालिका र सबैभन्दा कम बजेट पर्सा गाउँपालिकाले पाएका छन्। विष्णुका लागि रु ३० करोड ६२ लाख, कौडेनाका लागि रु २९ करोड ६४ लाख, ब्रम्हपुरीका लागि रु २९ करोड ४१ लाख, चन्द्रनगरका लागि रु २६ करोड ७० लाख, बसबरियाका लागि रु २५ करोड ५० लाख, चक्रघट्टाका लागि रु २३ करोड ३६ लाख, रामनगरका लागि रु २३ करोड ३१ लाख, धनकौलका लागि रु २३ करोड चार लाख र पर्सा गाउँपालिकाका लागि रु २० करोड ७५ लाख बजेट छुट्टाइएको छ।
सङ्घीय सरकारपछि अब प्रदेश सरकारले आगामी असार १० गते आआफ्नो प्रदेशसभामा बजेट प्रस्तुत गर्दैछन्। त्यसपछि असार १५ गते देशभरका सबै पालिकाले आआफ्नो गाउँ तथा नगर सभामा पालिकाको बजेट प्रस्तुत गर्नेछन्। पालिकाहरूले सङ्घीय र प्रदेश सरकारबाट विनियोजन भएको बजेटमा आन्तरिक आम्दानीको आङ्कलन गरी बजेट ल्याउने छन्।