arrow

पोखराका श्रेष्ठलाई सोम बज्राचार्य स्मृति संगीत पुरस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १९ बिहिबार
Shyamlal shrestha.jpg

पोखरा । सोम बज्राचार्य स्मृति संगीत पुरस्कार २०७८ बाट संगीतकार एवं वरिष्ठ तबला बादक श्यामलाल श्रेष्ठलाई पुरस्कृत गर्ने भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले गीत सङ्गीतमा क्रियाशील स्रष्टालाई प्रत्येक दुई दुई वर्षमा पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशि ११ हजार १११ रुपैयाँ रहेको छ।

आगामी असार ४ गते नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तले श्रेष्ठलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम तय भएको आयोजक पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिए ।

पोखरामा जन्मिएर पोखरालाई नै कर्मक्षेत्र बनाइ गीत सङ्गीतका क्षेत्रमा विगत चार दशकदेखि क्रियाशील श्रेष्ठले २०५१ मा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका थिए । श्रेष्ठ पोखराका पुराना तबला वादकका गुरुका रूपमा परिचित छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका साङ्गीतिक कार्यक्रम तथा ५० को दशकमा पहिलो पटक पोखरामा खुलेका रात्रिकालीन गीत गजल आदि प्रस्तुत गर्ने सङ्घसंस्थामा उनको महत्त्वपूर्ण भूमिका रहेको थियो । निरन्तर लगाव र महत्त्वपूर्ण योगदान दिएका उनले थुप्रै अवार्ड र पुरस्कार प्राप्त गरिसकेका छन् । 

नेपाली गीत सङ्गीतको क्षेत्रमा उनले दिएको योगदानको कद्दर स्वरूप सोम बज्राचार्य स्मृति संगीत पुरस्कार प्रदान गर्न लागिएको प्रतिभा छनोट समितिका संयोजक एवम् पोयुसांपका सल्लाहकार अनन्द श्रेष्ठले जानकारी दिए ।

गायक तथा संगीतकार सोम बज्राचार्यको स्मृतिमा उनकी धर्मपत्नी शान्ति बज्राचार्यले अक्षयकोष खडा गरी पोयुसांपद्वारा सञ्चालित यो पुरस्कारबाट यसअघि बिमा कुमारी दुरा, श्यामसुङ तामाङ, नवराज बराल, रुपेनबाबु थापा, सुनिल थापा र कर्ण दास पुरस्कृत भइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ