arrow

लोमान्थाङको पर्यटन पुरानै लयमा फर्कियो

logo
रासस
प्रकाशित २०७९ जेठ १७ मंगलबार
lomanthang.jpg
फाइल तस्वीर

मुस्ताङ । मुस्ताङको प्रमुख पर्यटकीयस्थल लोमान्थाङमा पर्यटकको आगमन हुन थालेपछि पुरानै लयमा फर्किन थालेको छ । कोरोनाको महामारीका कारण यसअघिका दुई वर्ष सुनसान बनेको लोमान्थाङमा चालु यामदेखि पर्यटकको चहलपहल बढेको हो । लोमान्थाङ संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष टासी गुरुङले दुई वर्षपछि पर्यटकको आगमनले पुरानै लयमा फर्किएको बताए । 

“होटल र होमस्टे पाहुनाले भरिएर घरमा समेत सुताएका छौँ,” उनले भने, “यसअघिको दुई वर्ष पर्यटक आगमन शून्य थियो ।” आइतबार सकिएको लोमान्थाङ र लोघेकर-दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाले मनाउने सबैभन्दा ठूलो पर्व तिजीमा हालसम्मकै धेरै पाहुना भित्रिएका अध्यक्ष गुरुङले बताए । 

लोमान्थाङ सीमा प्रहरी चौकीका अनुसार जेठ महिना सुरु भएयता ३८९ विदेशी पर्यटक भित्रिएका छन् । लोमान्थाङ प्रवेशका लागि विदेशी पर्यटकले १० दिनका लागि प्रतिव्यक्ति पाँच सय डलर नेपाल सरकारलाई प्रवेश शुल्क बुझाउनुपर्छ । लोमान्थाङमा रहेका ३५ होटल पाहुनाले भरिभराउ  छन् । चैत-वैशाख-जेठ र असार महिना लोमान्थाङ भ्रमणका लागि उपयुक्त समय हो । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को लोमान्थाङ संरक्षण कार्यालयका कर्मचारी रामबहादुर गुरुङले अभिलेख नराखिए पनि विदेशीको तुलनामा नेपाली पर्यटक धेरै आएको बताए । सडक यातायातको सहज पहुँचसँगै लोमान्थाङमा स्वदेशी पर्यटकहरु बढेका उनले बताए । 

जोमसोम-कोरला ११० किलोमिटर दूरीको सडक स्तरोन्नति भएपछि अहिले पोखरादेखि एकै दिनमा लोमान्थाङ पुग्न सकिने भएको छ । समथर, नाङ्गा र फुस्रा पहाडले घेरिएको लोमान्थाङ आसपासका क्षेत्रमा गुम्बा, गुफा, दरबार, लोवा समुदायको कला संस्कृति र हिमाली जीवनशैली आकर्षण बनेका छन् । 

स्पेनका पावलले लोमान्थाङको पृथक र आकर्षक भूगोल, जीवनशैली, पुराना सम्पदा, कला र संस्कृति अवलोकन गर्न पाएकामा खुसी व्यक्त गरे । काठमाडौँबाट आएका सिर्जन घर्तीले लोमान्थाङलाई जीवन्त इतिहासका रुपमा पाइएको बताए । 

तीस फिटभन्दा अग्लो माटोको पर्खालले घेरिएको बस्तीको बीचमा लोमान्थाङ दरबार छ । यहाँका घर, दरबार, गुम्बा सबै माटोले बनेका छन् । प्रकृति, संस्कृति, रहनसहन, संस्कार र मौलिक जीवनशैली आदि सुन्दरताकै कारण लोमान्थाङ पर्यटकको रोजाइमा परेको पथप्रदर्शक अमरसिंह दुलालले बताए । 

लोमान्थाङ, छोसेरको झोङ र चराङको गुफाभित्र अनौठा खालका कलाकृति र सामग्रीहरु पनि छन् । चराङ, मराङ र लोमान्थाङका मौलिक प्रविधिको प्रयोग गरेर निर्माण भएका गुम्बाहरु पनि यहाँको आकर्षणको विषय बनेको छ । लोमान्थाङबाट तिब्बतको सिमानामा रहेको कोरला नाका, छोसेर र छोन्हुपको भ्रमण गरी पुनः लोमान्थाङमै बास बस्न फर्कने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ