arrow

राजश्वमा राज

राजश्व अनु्सन्धान विभागलाई चुहावटमा उल्लेख्य काम गर्न नसकेको आरोप

महानिर्देशक पौडेल भन्छन् –नियन्त्रण गर्न नियामक निकायसँग मिलेरै काम गरिरहेका छौं

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
rajaswa-anusandhan-bibhag.jpg

 काठमाडौ । विभिन्न सीमा नाकाहरुमा सुरक्षा निकाय तथा नियामक निकायहरुको कमजोरीका कारण राजश्व चुहावट बढेको जानकारहरुले बताएका छन् । राजश्व नतिरिकन विभिन्न नाकाबाट सेटिङमा नेपाल भित्राइएका सामानहरु बजारमा छ्यापछ्याप्ती पाइने गरेबाटै चुहावट बढेको देखिएको हो । 

अनुगमन गर्ने भन्दा पनि तर्साएर व्यक्तिगत रुपमा असुल्ने प्रवृत्ति बढेका कारण बजारमा बिलबिजक नभएका सामानहरु पाइने गरेको बताइएको छ । तर राजश्व अनुसन्धानका प्रवक्ता दिवश आचार्य भने यी सबै आरोप मान्न तयार छैनन् । उनी भन्छन्, ‘देशभर अनुगमनको काम भइरहेको छ । राजश्व छलि गर्नेविरुद्ध मुद्धा दायर गर्ने काम दिनदिनै भइरहेको छ ।’
 
राजश्व छलि रोक्ने भन्दा पनि विभिन्न व्यापारीसँग अनैतिक ढंगले बार्गेनिङ गर्ने कार्य बढेको जानकारहरुले बताएका छन् । राजश्व चुहावटको अनुसन्धान गरेर मुद्धा दायर गर्नु पर्ने संस्थाका जिम्मेवार अधिकारीहरु नै राजश्व चुहावट रोक्ने भन्दा व्यक्तिगत लाभ लिन अग्रसर भएको व्यापारीहरुकाे आरोप छ । 

व्यापारीको व्यक्तिगत सूचना संकलन गरेर बार्गेनिङ गर्ने गरेको उनीहरुको आरोप छ । राजश्व अनुसन्धानका महानिर्देशक प्रकाश पौडेल भने विभागका अधिकारीहरुमाथि लगाइएको यो आरोप मान्न तयार छैनन् । 

उनले राहश्व चुहावट बढेको बारेमा हाम्राकुरासँग भने, ‘हामीलाई चुहावट भएको भनेर आयो भने त्यसको सूचनाको आधारमा अपरेशन गर्ने हो । हाम्रो क्षेत्राधिकार पनि त्यही हो । हामीलाई औपचारिक रुपमा आएको छैन ।’

उनले चोरी पहिलेदेखि नै भइरहेको दाबी गर्दै भने, ‘विगतको दशौं वर्षको ट्रेन्ड हेर्नु भयो भने चोरी त भइराख्या छ नि त । मान्छे पक्राउ परिराछन् । कारबाही भइराख्या छ । निर्वाचनको बेलामा दुई चार ठाउँमा हामी पुगेनौं अथवा हाम्रा मान्छेहरु सुरक्षा नभएर जान कम्ती भएको होला ।’

उनले विभाग नेतृत्वमाथि लागेको आरोप भने स्वीकारेनन् । भन्छन्, ‘तपाईले सोधेको विषय चाहिँ होइन । हामीले मात्र चासो राखेर नियन्त्रण हुने भए त अर्थ मन्त्रालय अन्तर्गत यत्रा अथोरिटी किन चाहिन्थे र । नेपाल प्रहरी पूरै त्यसैमा लागेको छ । सशस्त्र प्रहरी त्यसैमा लागेको छ । राष्ट्रिय अनुसन्धान त्यसैमा छ ।’ 

महानिर्देशक पौडेलमाथि नै लागेको आरोपबारे उनले भने, ‘क्वेशन उठाउन सबैलाई छुट छ । नेपालभरिको राजश्व चुहावट कुनै एउटा अंगको एक जना मान्छेले गरेर सम्भव छैन । सामूहिक प्रयास होला नि त । अर्कोले राजश्वको डीजी परिवर्तन गर्ने भनेर लागेर पनि हिँडिराछन् । कतिलाई त त्यो इन्ट्रेष्ट पनि त होला नि यो भएका बेलामा हाम्रो इन्ट्रेष्ट पूरा भएन भन्ने पनि होला । तपाईहरुकोमा आउँदा एउटा पाटो आए होला ।’

उनले केही समयदेखि आफूहरुलाई दिएका सुरक्षाकर्मी निर्वाचनमा भएकाले पनि अप्रेशन नियमित गर्न नसकेको बताए । उनले भने, ‘उहाँहरु आएको पनि एक दुई दिन मात्र भयो । मातहतमा साथीहरुले हेरिराख्नु भएको छ । केन्द्रले पनि हेरिराख्या छ आएको सूचनालाई त ।’

राजश्वसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी सीमामा सक्रिय छन् । उनले भने, ‘धेरै ठूलो परिमाणमा चुहावट गरेर कारबाही गरेको त देखिन्न । हामीले फाइन्ड गरेर कोर्टमा लैजाने केसमा लाने कुरालाई चाहिँ फाइनल भएर आउँदा बल्ल चुहावट सबै देखिने हो ।’

उनी अगाडि भन्छन्, ‘हामीलाई बोर्डरमा १०० प्रतिशत मार्जिन प्लसको केही बस्तुलाई आयात गर्न कडाइ गरेको छ । सम्भावनाको कुरा आएको थियो । तर हामीले छड्के गरेर हेर्ने कुराहरुलाई हेरेकै छौं ।’ 

चुहावट रोक्नका लागि विशेष योजनाबारे उनले सुनाए, ‘वर्ष भरि नै हामी एउटै एक्सन प्लानमा हुन्छौं । पछिल्लो समय त खाद्यान्हभित्र खाद्यान्ह चोरी हुन्छ भन्नेसमेत आएको छ । ती गाडीहरु भन्सार बिन्दुमै हेरिन्छन् । खासगरी कपडाको अलि बढी आएको होला । हामी सम्बन्धित निकाय र अधिकारीसँग चुहावटबारे पटक पछक छलफल गर्दै आइरहेका छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ