काठमाडौं । भारतीय कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मुसवालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्या भएको छ । गोली लागेर अन्य दुई जना घाइते भएका छन् । पञ्जाब सरकारले मुसवालासहित ४२४ जनाको सुरक्षा फिर्ता लिएको भोलिपल्ट यो घटना भएको हो ।
पञ्जाबका मुख्यमन्त्री भगवन्त मान नेतृत्वको सरकारले भीआईपी संस्कृतिलाई रोक्न भन्दै उनीहरूको सुरक्षा हटाएको थियो । मुसवाला र उनका दुई साथीहरू पञ्जाबको जवाहर के गाउँमा जीपमा चढ्दै गर्दा आक्रमण भएको थियो । मुसवाला गाडीको सिटमा ढलेको र धेरै रगत बगिरहेको अवस्थामा फेला परेका थिए ।
उनलाई अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले यो आक्रमणको जिम्मेवारी क्यानडामा रहेका एक गुण्डाले लिएको जनाएको छ । ‘उनको हत्यामा लरेन्स बिश्नोई गिरोह संलग्न छ । गिरोहका सदस्य लक्कीले क्यानडाबाट जिम्मेवारी लिएको छ’ पञ्जाब डीजीपी वीके भवराले भने ।
मुसवालाले एके–४७ को प्रयोग गरेर हत्या भएको बताइएको छ । उनी २८ वर्षका थिए । २९ औं जन्मोत्सव मनाउनु १२ दिन अगाडि उनको हत्या भएको हो । उनी ११ जुनमा जन्मेका थिए ।
तीन किसिमका हतियारले गोली हानेर मारेको प्रहरीले जनाएको छ । उनलाई ३० वटा गोली लागेको थियो ।
उनका एक करोड यु–ट्युब सब्सक्राइबर रहेका छन् । उनले भिडियोमा गनको प्रयोग बढी गर्ने गर्दथे । अपराधलाई बढावा दिनलाई यस्ता भिडियो राख्ने गरेको आरोप उनीमाथि लाग्ने गरेको थियो ।