arrow

म्याग्दी दुरुलेकमा पर्यटक आगमनमा वृद्धि

logo
रासस
प्रकाशित २०७९ जेठ १५ आइतबार
durulake.jpg
फाइल तस्वीर

म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-२ रुमस्थित पर्यटकीय स्थल दुरुलेकमा पर्यटकीय पूर्वाधार निर्माणपछि आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको छ । गण्डकी प्रदेश सरकार र मालिका गाउँपालिकाको गरी करिब रु ३० लाखको लागतमा पदमार्ग, शत्तल, मन्दिरलगायत पर्यटकीय पूर्वाधार निर्माण भएपछि दुरुलेक पर्यटकीय गन्तव्य बनेको हो । 

बागलुङ र म्याग्दीका आन्तरिक पर्यटक यस क्षेत्रको भ्रमणमा आउन थालेका हुन् । गण्डकी प्रदेश सरकारको थप रु १० लाख बजेटबाट पर्यटक बस्ने घर निर्माण गरिएपछि बाह्य पर्यटकको आगमन पनि बढ्न थालेको छ । 

समुद्री सतहदेखि तीन हजार ४८४ मिटर उचाइमा अवस्थित दुरुलेखमा हिमशृङ्खला र ग्रामीण भूगोलको अवलोकनका लागि यहाँ पर्यटक पुग्ने गर्छन् । प्राकृतिक, जैविक, ऐतिहासिक र धार्मिकस्थलको रूपमा दुरुलेक महत्त्वपूर्ण रहेको स्थानीय श्याम पुन  बताउँछन् । 

दुरुलेकमा लालीगुराँसको घनाजङ्गल, दर्जनौँ हिमालको दृश्य तथा म्याग्दी बागलुङलगायत जिल्लाका ग्रामीण बस्तीका डाडाँकाडा हेरेर रमाउन पर्यटक आउने गरेका छन् । धौलागिरि, अन्नपूर्ण, निलगिरीलगायत हिमाल नजिकबाट देख्न पाइन्छ । 

प्राकृतिक दृश्यसँग रमाउन आउने पर्यटकलाई दुरुलेकदेखि झण्डी डिलसम्म पुग्ने पदमार्ग र चौतारी निर्माणले सहज भएको छ । पर्यटकलाई मठ्ठा चढाउने भीरले पनि थप आकर्षित गरेको छ । वसन्त ऋतुसँगै लालीगुराँस फुल्ने हुँदा पर्यटक दुरुलेक पुग्छन् । पर्यटकको बसाइ लम्ब्याउन पूर्वाधार निर्माणमा जोड दिन स्थानीय सरकारले गुरुयोजना निर्माण गर्नुपर्ने स्थानीयवासी नरबहादुर पुन बताउँछन् ।

सदरमुकामदेखि मालिका गाउँपालिकाको केन्द्र दरवाङ हुँदै अधिभारा, फूलबारी, डाडाँगाउँ, निस्कोट, रुम जैम, घाङ्लेपानीसम्म सवारीसाधनमा यहाँ पुग्न सकिन्छ । घाङ्लेपानीबाट करिब पाँच घण्टामा लालीगुराँसको घनाजङ्गल हुँदै गाई भैँसी र भेडा बाख्राका गोठ, वन्यजन्तुको अवलोकन र आवाज सुन्दै पदयात्रामार्फत दुरुलेकमा पर्यटक पुग्छन् । 

“गुराँसे जङ्गलले राताम्मे वन र मनोरम हिमशृङ्खलाले पर्यटकलाई लोभ्याउने गरेको छ”, मालिका गाउँपालिकाका निवर्तमान उपाध्यक्ष खरमाया बिटालुले भने । यहाँ गाई भैँसी र भेडा बाख्राका लागि गोठको व्यवस्था गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ