धमाधम तोडिँदै एमालेको लालकिल्ला, दोष नेताहरुको कि गठबन्धन शक्तिको ?
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ७ शनिबार
1.1k
Shares
काठमाडौं । एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र एमाले महासचिव शंकर पोखरेलको आधार इलाका मानिने लुम्बिनी प्रदेशमा एमालेका गढ भत्किएका छन् । लुम्बिनी प्रदेशका १ सय ९ पालिकामध्ये अहिलेसम्म ९२ पालिकाको आधिकारिक नतिजा सार्वजनिक हुँदा एमाले २२ स्थानीय तहमा खुम्चिदा एमालेका गढ भत्किएका हुन् ।
निर्वाचन आयोगले शनिबार बिहानसम्म दिएको जानकारी अनुसार लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो स्थानमा रहेको छ । बर्षौंदेखि गढ रहेको बुटवल पनि कांग्रेसले कब्जा गर्दैछ । विष्णु पौडेल आफैं सो क्षेत्रमा खटिए पनि उनको कुनै जोड चलेन । ३० वर्षपछि बुटवल नगरपालिका कांग्रेसले फिर्ता गर्ने अवस्थामा पुगेको हो । बुटवल वडा नंं ११ को ४५ सय मत गन्न बाँकी छँदा खेलराज नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई भन्दा ८ हजार बढी मतले अगाडि रहेकाले पाण्डेयको जित निश्चित भएको हो ।
बुटवलका १९ मध्ये १८ वडा र गणना भइरहेको बुटवल–११ को ५९ सय मत गणना हुँदासम्म खेलराजले २९ हजार ७६ मत पाएका छन् भने भट्टराईको मत २० हजार ८१९ रहेको छ ।
नेपाली कांग्रेस अहिलेसम्म ४१ पालिकामा विजयी भएको छ । माओवादी २४ पालिकामा विजयी हुँदा एमालेले जम्मा २२ पालिका जितेको छ । दुई पालिकामा जनमोर्चाले विजय हासिल गरेको छ भने दुई पालिका जनता समाजवादी पार्टीले जितेको छ।
त्यस्तै एक पालिकामा राप्रपा विजयी भएको छ । १२ जिल्ला रहेको प्रदेशमा गुल्मी, रोल्पा, अर्घाखाँची, बर्दिया, रुकुम पूर्व, प्युठान, नवलपरासी पश्चिमका सबै पालिकाको मतगणना सकिएको छ ।
प्रदीप ज्ञावाली, गोकर्ण विष्ट रहेको जिल्ला गुल्मी पनि लाल किल्ला तोडिएको छ । शंकर पोखरेलको जिल्ला दाङको घोराही नगरपालिका मात्रै एमालेले जितेको छ । विष्णु पौडेलको निर्वाचन क्षेत्र रहेको सैनामैना नगरपालिका नै कांग्रेसले जितेको छ ।
दाङमा तुल्सीपुर उपमहानगरपालिकाको मात्र बाँकी छ । पाल्पाको रम्भादेवी गाउँपालिका बाहेक अन्य गाउँपालिकाको मत गणना सकिएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार एमालेका गढ भत्किएपछि पौडेल र पोखरेल अप्ठेरो अवस्थामा छन् ।