arrow

बलात्कृत पीडितलाई न्याय दिन माग गर्दै माइतीघरमा प्रदर्शन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ७ शनिबार
against-rape-21.jpg

काठमाडौं । बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा महिलाहरुले गरेको प्रदर्शन गरेका छन् । एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि महिलाहरूले प्रदर्शन गरेका हुन् ।

सन् २०१४ को सौन्दर्य प्रतियोगितामा सहभागी ती किशोरीमाथि त्यतिबेला आयोजकले नै होटेलमा लगेर नशालु पदार्थ सेवन गराउँदै बलात्कार गरेको कुरा उनी आफैले करिब ८ वर्षपछि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् ।

आफ्ना साथीहरू, सौन्दर्य प्रतियोगितामै सहभागी अन्यलगायतलाई भन्दै गर्दा न्याय पाउन नसकेपछि ती युवतीले लामो समय कष्टकर समय व्यतीत गरेपछि अहिले आफैले सम्पूर्ण नागरिक समक्ष आफूमाथि घटेको डरलाग्दो यौन हिंसा सार्वजनिक गरेकी हुन् ।

ती आयोजकले पहिलो पटक नशालु पदार्थ सेवन गराएर बलात्कार गर्दा फोटो र भिडियोसमेत खिचेर पछि सोही फोटो भिडियो सार्वजनिक गरिदिन्छु भन्दै ब्लाकमेल गरी करिब ६ महिनासम्म बलात्कार गरेको ती युवतीले बताएकी छन् ।

सामाजिक सञ्जालमार्फतसमेत अधिकारकर्मी, कलाकारदेखि आम सर्वसाधारणले उनका लागि न्यायको माग गरिरहेका छन् । 

यो मुद्दा संसदमासमेत प्रवेश गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले तत्काल छानबिनको प्रक्रिया अगाडि बढाएर दोषीलाई कारबाही गर्न निर्देश गरेसँगै प्रहरीले अनुसन्धान थालिसकेको छ । 

के हो यो घटना ? 
गत बुधबार आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन् । 

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको बताएकी छिन् । 

बुधबार टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडियोमार्फत उनले आफूमाथि भएको घटनाको विस्तृत खुलासा गरेकी हुन् । उक्त खुलासापछि सामाजिक संजालमा पीडकलाई कारवाहीको माग भइरहेको छ। 

बलात्कार गर्नेका साथै किशोरीले घटनाबारे जानकारी दिएको तर उनलाई सहयोग गर्न अस्वीकार गरेकालाई पनि कारवाहीको माग भइरहेको छ। मलाई यौन शोषण गर्नेको कार्यालयमै गएको दिन मैले कोरियोग्राफरलाई फोन गरेकी थिएँ तर मलाई किन भन्छेस् भन्दै उल्टै हप्काएर फोन राखिदिइन्’ उनको भनाइ छ । 

उक्त प्रतियोगिताको कोरियोग्राफी गरेकी पूर्वमिस नेपाल माल्भिका सुब्बाले उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक संजालमार्फत माफी मागेकी छिन् । त्यसैगरी फोटोग्राफी गरेका श्रीधर पौडेलले मोडलिङ एजेन्सीले बोलाएकाले व्यावसायिक रूपमा फोटो खिचेको र त्यसबापतको पारिश्रमिक लिएको बताउँदै मिडियामा उनले कानूनी उपचारमा पीडितलाई सघाउन आफू तयार रहेको बताएका छन् । 

उक्त प्रतियोगिता भिसा ग्लोबल कन्सल्टेन्सीका प्रमुख मनोज पाण्डेले आयोजना गरेका थिए । यो भिडियो सार्वजनिक भएपछि भने उनी सम्पर्कविहीन छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ