arrow

४५ दिनमा मोदीको 'रिटर्न भिजिट', नेपाल-भारत 'विशेष सम्बन्ध'को उदाहरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
modi-deuba.JPG
फाइल तस्बिर

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ४५ दिनमा नेपालमा रिटर्न भिजिट गर्दै छन्। भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीका अवसरमा सोमबार पाँच घण्टाका लागि लुम्बिनी आउन लागेका हुन्।

यसअघि चैत १८ गते नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो पठाएका थिए। सोही निमन्त्रणामा मोदी लुम्बिनी आउन लागेका हुन्।

यसअघि भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्रीको नयाँ दिल्ली भ्रमणका क्रममा नेपाल-भारतबिच विशेष सम्बन्ध रहेको बताएका थिए। नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशको सभ्यता, संस्कृति र आदानप्रदानको धागो प्राचीन कालबाटै जोडिएको बताएका थिए। 

उनले भनेका थिए, 'भारत र नेपालबिचको मित्रता, हाम्रा नागरिकबिचको सम्बन्धजस्तो उदाहरण विश्वमै कहीँ देख्न पाइँदैन। अनादिकालदेखि हामी एक अर्काका सुख-दुःखका साथी रहेका छौँ।'

भारतीय विदेश सचिव विनयमोहन क्वात्राले छोटो अवधिमै भारतका तर्फबाट गरिएको ‘रिटर्न’ भ्रमणले दुई देशबीचको निकटतालाई झल्काएको बताएका छन्।  ‘नेपाल र भारतबिच धेरै क्षेत्रमा बहु आयामिक सम्बन्ध छ,’ उनले भने, ‘दुई शीर्ष नेताहरूको भेटवार्तामा त्यस्ता धेरै विषयबारे कुराकानी हुन सक्छ। ’ 

मोदीले लुम्बिनीमा मायादेवी मन्दिरको दर्शन, त्यसपछि बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास, प्रधानमन्त्री देउवासँगको द्विपक्षीय वार्ता र बुद्ध जयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ।  

‘मोदीको भ्रमण संक्षिप्त र व्यस्त रहनेछ।  बुद्धको जन्मस्थल लुम्बिनीमा मोदीको पहिलो भ्रमण हुन लागेको हो।  नेपालका लागि यो उहाँको पाँचौँ भ्रमण हो,’ क्वात्राले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ