arrow

वर्चश्व गुम्ने डरले एमाले बेचैन, गठबन्धनलाई मोर्चाबन्दीले नपुगेर धाँधलीमा उत्रेको आरोप 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
congress-uml-maobadi-as-jasapa.jpg

काठमाडौं । स्थानीय तहको सरकारमा कब्जा जमाएको एमालेले यसपल्ट आफ्नो वर्चश्व गुमाउने देखिएपछि धाँधली भएको आरोप लगाएको छ । आइतबार एमालेले निर्वाचन जित्न सत्ता गठबन्धन दलले धाँधलीको सहारा लिएको आरोप लगाएको हो । 

देशभर निर्वाचन परिणाम सार्वजनिक भइरहँदा एमालेले वक्तव्य जारी गरेर सत्ता गठबन्धन दलले तीन चरणमा चुनाव जसरी पनि जित्ने गरी धाँधली गरेको आरोप लगाएको छ । ‘स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रास बिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पूरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीका सहारा लिएको छ,’ एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्तिमा सत्ता गठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको पनि जनाइएको छ । ‘हामीले निर्वाचन आयोगलाई आचारसंहितामा भएको त्रुटी सच्याउन अनुरोध गर्दा अनेक टिप्पणी गर्ने सत्ता गठबन्धन दलका नेताहरुका निरन्तर आचारसंहिता विपरीत कार्यप्रति नेकपा एमाले खेद व्यक्त गर्दछ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

हाल एमालेले देशभर सत्ता गठबन्धनसँग सामना गरिरहेको छ । त्यसको परिणाम नआउँदै एमालेले धाँधलीको आरोप लगाएको हो । निर्वाचनलाई प्रभावित गर्न सत्ता गठबन्धनलाई सहयोग हुने गरी गृह प्रशासनले प्रहरी तथा कर्मचारीहरु खटाएको, मतदातालाई हतोत्साह गर्न अघिल्लो दिन गिरफ्तार गर्ने र मतदान पछि मात्र छाड्ने कार्य गरिएको, निर्वाचन अगाडि एमाले कार्यकर्तालाई अपहरण र पूर्व रुकुम तथा ताप्लेजुङमा एमाले कार्यकर्ताको हत्या गर्ने कार्य भएको र ताप्लेजुङमा मृत्यु भएका एमाले कार्यकर्ताको पोष्टमार्टमसमेत नगरी त्यसै राखिएको जस्तो आरोप लगाएको छ ।

‘मौनअवधिमा बुटवल लगायतका स्थानमा नेकपा एमालेका उम्मेदवारलाई हतोत्साही गर्ने र मतदातालाई अनुचित प्रभाव पार्ने उद्देश्यले उम्मेदवारको गाडी खानतलासी गर्ने, उम्मेदवारलाई पक्राउ गर्ने, उम्मेदवारका परिवारका सदस्यलाई प्रचारात्मक रुपमा घेराबन्दीमा पार्ने, गिरफ्तार गरेको प्रचार गर्ने लगायतको हत्कण्डाको प्रयोग गरी अर्कोतिर सत्ता गठबन्धनबाट हाकाहाकी पैसा बाँड्ने काम हुँदासमेत रोक्न कुनै सार्थक प्रयास गरिएन’, एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

त्यसैगरी निर्वाचन परिणामलाई सत्ता गठबन्धनको पक्षमा पार्नका लागि दोलखाको बैतेश्वर, तामाकोशी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको सुनकोशी, काभ्रेपलाञ्चोकको पाँचखाल, बाराको पचरौता, अछामको साँफेबगर, पञ्चदेवल बिनायक, मंगलसेन, बझाङको छबिसपाथिभेरा, सर्लाहीको धनकौल, बलरा, रामनगर, बागमती, बरहथवा, रौतहटको करुनियालगायत दर्जनौं स्थानमा बुथकब्जा गर्ने कार्य भएको पनि एमालेको आरोप छ । 

त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ मा साँझ ५ बजेपछि मतदान केन्द्रमा प्रवेश नगरेको मतदातालाई घरघरबाट ल्याई कानुनविपरीत मतदान गराउन खोज्दा प्रतिवाद भएपछि मतगणना नै नगरी रोकी राखिएको, प्रहरीलाई मतदान स्थल छाडेर भगाउने, कर्मचारीलाई समेत मुचुुल्का नगरी मतदान स्थल छाड्न निर्देशन दिने गरी गृह प्रशासनको चरम दुरुपयोग भइरहेको पनि एमालेको आरोप छ ।

‘पहिलो घेराको सुरक्षा गर्ने जिम्मा पाएको नेपाल प्रहरी हिँडेपछि सेनाको सुरक्षा घेरामा मुचुल्का सम्पन्न गरेकोमा निर्वाचन रोक्न सत्ता गठबन्धनले बाजुराको बुढीगंगा, बुढीनन्दा र खप्तडा छेडाछारमा नाङ्गो नाच गरिएको छ’, एमालेले भनेको छ । 

निर्वाचन सम्पन्न भई मतगणना स्थलमा बाकस पुर्याउन जाने क्रममा उम्मेदवार प्रतिनिधिलाई मतपेटिका राखिएको सवारी साधनमा साथै जान रोक लगाइएको भन्दै एमालेले कतिपय स्थानमा सुरक्षित राखिएको बाकसको सिल तोडिएकोसमेत पाइएको आरोप लगाएको छ । 

निर्वाचनको दिन मतदान शुरु हुने क्रममा बनाएको मुचुल्कामा हस्ताक्षर गराउँदा मतदान सम्पन्नको मुचुल्कामा समेत एकै पटक हस्ताक्षर गराई धाँधली गर्ने कार्य गरिएको, निर्वाचनमा कर्मचारी खटाउँदा नेपालगञ्ज उपमहानगर लगायतका केही स्थानमा पूर्व तयारीसाथ प्रहरीदेखि अन्य कर्मचारीसमेत गठबन्धनको पक्षधरलाई राख्ने जस्ता कार्य भएको पनि एमालेले जनाएको छ ।

 ‘स्वच्छ निर्वाचन गर्न केही स्थानमा पुनः मतदानको माग भएको छ । केही स्थानमा मतगणना गर्दा खसेको मत भन्दा बढी मत बाकसमा फेला परेको, कतिपय स्थानमा मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर नगर्ने, गलत स्थानमा हस्ताक्षर गर्ने कार्य भए’, एमालेले भनेको छ । त्यसैगरी एमालेले मतगणनामा पनि समस्या रहेको जनाएको छ ।

 ‘मत गणना गर्दा सत्ता गठबन्धनलाई फाइदा पुग्ने गरी उम्मेदवार भएको र नभएको दुई निर्वाचन चिन्हमा मतदान गरेकोमा सो मतपत्रको सम्बन्धित मत बदर हुनुपर्नेमा सदर गर्ने कार्यसमेत गरिएको छ’, एमालेले भनेको छ । 

मतगणना स्थलमा कानूनविपरीत सत्ता गठबन्धन पक्षधर उम्मेदवारको मतलाई सदर गर्ने र नेकपा एमाले पक्षधर उम्मेदवारको मत बदर गर्ने गरी फरक–फरक मानक बनाई पक्षपातपूर्ण व्यवहार गरेको, सोको प्रतिवाद गरी पुनः मतगणनाको निवेदन दिँदा लिन अस्वीकार गरेको, लमजुङको मध्यनेपाल नगरपालिकाको मतगणना स्थलबाट मतगणना प्रतिनिधिलाई हटाई एकलौटी मतगणना गरिएको, मतगणनाको क्रममा काठमाडौंको चन्द्रागिरी वडा नं ३ र ४ लगायतका स्थानमा खसेको मतभन्दा बढी मत बाकसमा देखिएपछि पुनः मतदानको माग गर्दा अस्वीकार गरी निरन्तर मतगणना जारी राखेको पनि आरोप लगाएको छ । 

एमालेले मत गणना कार्य छिटो छरितो हुनुपर्नेमा अनावश्यक ढिलाई गर्ने कार्य भइरहेको पनि जनाएको छ । मतगणना शीघ्र सम्पन्न गर्न र मतगणनाको क्रममा हुने धाँधली र अनियमितता नियन्त्रण गर्न निर्वाचन आयोगसमक्ष आग्रहसमेत गरेको छ ।

‘मतगणना गर्दा सत्तापक्षले गरेको पुनः मतगणनाको मागलाई तत्कालै स्वीकार गर्ने र नेकपा (एमाले) ले गरेको मागलाई बेवास्ता गर्ने कार्य भएको छ’, एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘हामी सत्ता गठबन्धनबाट नेकपा एमालेविरुद्ध गरिएको मोर्चाबन्दीको बाबजुद निर्वाचनमा उभिएको पार्टी हो । मोर्चाबन्दीले नपुगेर धाँधलीमा उत्रेको, ‘योजनाबद्ध धाँधली’लाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गर्दछौं ।’

पुनः मतदान र मतगणनाको लागि नेकपा एमालेले दिएको उजुरीउपर गम्भीरतासाथ ध्यान दिई कार्यान्वयन गर्न र बैशाख ३० लगायत विभिन्न मितिमा केन्द्रीय कार्यालयको तर्फबाट र सम्बन्धित उम्मेदवारहरुले सम्बन्धित पालिकाको निर्वाचन अधिकृत र आयोगसमक्ष दिएका दिएको निवेदन अनुसार निष्पक्ष तबरले पुनः मतदान गराउने र मतगणना गराउन आग्रह गरेकोमा त्यसलाई बेवास्ता गरेकोसमेत एमालेको आरोप छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ