arrow

सरकारी सेवा सुविधा लिन्नौं, भ्रष्टाचार गर्दैनौं – अर्जुनप्रसाद शिवाकोटी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
arjun-prasad-shiwakoti.jpg

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिकाका नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार अर्जुन शिवाकोटीले बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनबाट नेकपा एमालेको गढ भत्काउने दाबी गरेका छन् । 

उनले लामो समयदेखि एमालेले कब्जा जमाउँदै आएकामा विकास निर्माणका काम भन्दा भ्रष्टाचार बढी गरेको भन्दै जनतामा आक्रोश बढेको भन्दै त्यो आक्रोश आफूलाई जिताएरै शान्त पार्ने चाहना राखेको बताएका छन् । 

उनले भने, ‘तयारी एकदम राम्रो भयो । जनता विगतको नेतृत्वको काम देखेर निराश छन् । उनीहरुले मलाई नै मत दिने विश्वास दिलाएका छन् । अहिले आम मतदातामा भोट हाल्ने उत्साह छ ।’

यो क्षेत्र एमालेले जितेको थियो २०७४ सालमा । एमालेको गढ भत्काउने विश्वासका साथ आफू अगाडि बढेको शिवाकोटीले बताएका छन् । 

उनलाई नै मत दिनुपर्ने कारणबारे उनी भन्छन्, ‘पूर्ण विश्वास छ । अघिल्लो निर्वाचन जितेको एमालेले अहिलेसम्म प्रशासनिक केन्द्र गाउँपालिकाको केन्द्र तोक्न नसकेको अवस्था छ । एमालेले पहिले गरेको भ्रष्टाचार र गरेको विकासको गुणस्तर नहुनु र आममतदातामा निराशा छ । नैराश्यता छ । यस अर्थमा म विजयी हुन्छु भन्ने विश्वास छ ।’
 
उनले आफ्नो एजेन्डा स्पष्ट पारेका छन् । अध्यक्ष भएपछि आफूसहित आफ्नो टिमले कुनै पनि सरकारी सेवा सुविधा नलिने उनले बताएका छन् । उनले भने, ‘हामीले सरकारी सेवा सुविधा कुनै पनि लिदैनौं । गुणस्तरीय विकास निर्माणका काम गर्नेछौं । भ्रष्टाचार गर्दैनौं । स्वास्थ्य शिक्षामा सुधार गर्छौं । हामीले प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेका छौं ।’

एमालेको गढ सजिलै तोड्न भने कांग्रेसलाई सजिलो पक्कै छैन । शिवाकोटी भन्छन्, ‘यहाँ गठबन्धन छ । गठबन्धन प्रतिबद्ध छ । त्यसैले जित्ने आधारहरु छन् ।’ 

गठबन्धनबाट अध्यक्षमा शिवाकोटी उठ्दा उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका कुलबहादुर बुढाथोकी चुनावी मैदानमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ