श्रीलङ्का सङ्कट : रोकिएन प्रदर्शन, राजापाक्षेले लिए नौसेनाको आधारमा शरण
एजेन्सी,
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
714
Shares
फाइल तस्बिर
कोलम्बो। श्रीलङ्काका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको परिवार देशको उत्तर–पूर्वी भागमा रहेको त्रिन्कोमालीस्थित नौसेनाको आधारमा शरण लिएका छन्। देशको सबैभन्दा खराब आर्थिक सङ्कटलाई लिएर प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री राजापाक्षेले नौसेनाको आधारमा शरण लिएका हुन्।
राजापाक्षे र उनको परिवारलाई हेलिकप्टरमा नौसेनाको आधारमा लगिएको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ। राजधानी कोलम्बोबाट करिब २७० किलोमिटर टाढा रहेको नौसेना आधारबाहिर पनि विरोध प्रदर्शन भइरहेको जनाइएको छ।
आर्थिक सङ्कटलाई लिएर भएको विरोध प्रदर्शनमा पाँच जनाको मृत्यु भएपछि कर्फ्यु लागू गर्न हजारौँ सेना र प्रहरी परिचालन गरिएको छ। राजापाक्षेले सोमबार पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि पनि जनआक्रोश थामिएको छैन।