arrow

कांग्रेसले गलत कामको भण्डाफोर गरेको छ, जनताको साथ छ, यसपालि जित्छौं – ईश्वर मानन्धर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
ishwor-manandhar-dolakha-congress.jpg

दोलखा । दोलखाको भिमेश्वर नगरपालिकाका नेपाली कांग्रेसका मेयरका उम्मेदवार ईश्वर मानन्धरले पालिकामा यसपालि कांग्रेसले जित हासिल गर्ने दाबी गरेका छन् । उनले चुनावको तयारी पनि राम्रो गरेको र यो क्षेत्रमा लामो समयदेखि नेकपा एमालेले मनोमानी गरेकाले मतदाता रुष्ट भएकै कारण कांग्रेसलाई मत दिने दाबी गरेका हुन् । 

उनले भने, ‘प्रचारप्रसार राम्रो गरियो । भेटघाटमा गएर आफ्ना कुराहरु राखियो । उनीहरुका पीडा पनि सुनियो । लामो समयदेखि एमालेले कब्जा गरेको छ । एमालेको चरम विकृति, भष्टाचार र अनियमितताबारे कांग्रेसले भण्डाफोर गरेको छ । जनताको साथ पाउने वचन पाएका छौं । हामीले पनि यो ठाउँको विकासका लागि कसम खाएका छौं । जित्छौं जस्तो लाग्छ ।’

उनले आफ्नो जितको आधारमा रुपमा जनता आफ्नो पक्षमा भएको बताएका छन् । उनी भन्छन्, ‘जनता मेरो पक्षमा छन् । पाँच वर्षदेखि जनतासँग हातमा हात लिएर हिँडेको छु । उनीहरुको सुखदुःखमा साथ दिएका छौं । त्यतिबेला निर्वाचित भएकाहरुले गरेको गलत कामको भण्डाफोर गरेका छौं ।’ 

उनी यसअघिको सरकारले गरेका कामको भण्डाफोर गर्दै अगाडि भन्छन्, ‘नगरपालिका अस्तव्यस्त बनाइएको छ । पूर्वाधार खडा गर्ने नाममा यसअघि जथाभावी पैसा खर्च गरिएको छ । जथाभावी कर बढाएर असुलेको पैसा चुनावमा खर्च गरिएको छ । सेटिङमा ठेक्का मिलाएर शहरमा ठूला ठूला भवन, कभर्डहल बनाइएको छ । त्यो पूर्ण भएको छैन । अनुदान आफ्ना र कार्यकर्तालाई पोसिएको छ । दक्षित वर्गमा पुग्या छैन । सडकका नाममा भत्काउने मात्र काम गरिएको छ । शहरमा एक मिटर पिच छैन । खानेपानीको नाममा एडीबीको ऋण बोकाइएको छ । महङ्गो पानी खुवाउन लागिएको छ । नगरपालिका भए पनि महङ्गो पानी खान सक्ने जनता छैनन् । आर्थिक स्थिति खस्कदो छ । आन्तरिक पर्यटकहरु आउन ठप्प भइसकेको अवस्था छ ।’

उक्त पालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको छ । उम्मेदवार मानन्धरले अब कृषिलाई आधारित बनाएर पर्यटनलाई सबल पारी फेरि यहाँको अर्थतन्त्र बढाउने प्रयास हुने बताउँछन् । 

उनले बिगारिएका संरचनाहरु बनाइने भन्दै यसपालि विश्वास गरेर मतदाताले कांग्रेसलाई भोट दिने दाबी गरेका छन् । 

यो क्षेत्रमा वर्षौंदेखि नेकपा एमालेले जित्दै आएको छ । मेयर उम्मेदवार मानन्धरले एमालेको तानाशाह तोड्नका लागि पनि गठबन्धनले जित्नु जरुरी रहेको बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ