arrow

मधेस केन्द्रीत आधादर्जन दल, चुनावमा एक्ला एक्लै मैदानमा  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
local-level-election-everytime1.jpg

काठमाडौं । ७ सय ५३ मध्ये १ सय ३६ पालिका मधेस प्रदेशमै छन् । त्यसैले मधेस प्रदेशलाई प्रमुख दलहरूले महत्व दिएका छन् । तर तराई–मधेसलाई केन्द्रीत गरी खोलिएका दलहरू भने मधेसमा एक्लाएक्लै चुनाव लड्दै छन् । 

तराई–मधेसलाई केन्द्रीत गरी जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, जनमत पार्टी, जनता प्रगतिशील पार्टी र नागरिक उन्मुक्ति पार्टीले स्थानीय तहको चुनावमा भाग लिँदैछन् । 

यीमध्ये जसपा र लोसपा पुरानो पार्टी (समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी) को नाममा चुनाव लडे तर अन्य ४ पार्टी पहिलो पटक चुनाव लड्दैछन । त्यसैले ती पार्टीहरूको लागि यो चुनाव पहिलो अनुभव हो । 

जेलबाटै पार्टी घोषणा गरेका रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टी कैलाली र कञ्चनपुरमा चुनाव लड्दै छ । यसैगरी केही महिनाअघि पार्टी घोषणा गरेका हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीले पनि लुम्बिनी प्रदेशका केही पालिकामा उम्मेदवारी दिएको छ । 

जसपाका कार्यकारिणी समितिका सदस्य मृगेन्द्र सिंह यादवले मधेस प्रदेशमा जसपाले लोसपा लगायतका अन्य साना दलहरुसँग तालमेल नगरेको बताए । ‘हामीले सत्तारुढ गठबन्धन दलसँग मात्र तालमेल गरेका छौं । अन्य दलसँग तालमेल  गरेका छैनौं’ उनले भने ।

सुदूरपश्चिमको कैलालीका २ वटा पालिकामा स्थानीय तहमा जसपा र लोसपाले तालमेल गरेका छन् । सिंह यादवले भने कैलालीमा भएको तालमेलको बारेमा आफू जानकार नभएको बताए । जसपाले मधेस र लुम्बिनी प्रदेशका सबै पालिकामा तथा अन्य प्रदेशका धेरैजसो पालिकामा उम्मेदवार दिएको यादवले बताए ।  मधेस केन्द्रीत दलहरूको ध्यान भने लुम्बिनी प्रदेश भन्दा मधेस प्रदेशमै बढी छ । 

लोसपाका कार्यकारिणी समितिका सदस्य केशव झाका अनुसार लोसपाले मधेस प्रदेशलगायत देशभर १ सय ८० पालिकामा उम्मेदवारी दिएको छ । 

मधेस प्रदेशमा लोसपाले एक्लै उम्मेदवारी दिएको बताए । कैलाली र कञ्चनपुरमा अन्य दलहरूसँग तालमेल गरेको उनको भनाइ छ । लोसपाले शुक्रबार मात्र चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । 

यसैगरी सरकारी कार्यालयमा हुने भ्रष्टाचारविरुद्ध नारा दिएको जनमत पार्टीले पनि मधेस प्रदेशका पालिकाहरूमा उम्मेदारी दिएको छ । स्थानीय तहको चुनावमा जनमत पार्टीले अन्य पार्टीहरूसँग तालमेल गरेको छैन । 

अन्य पार्टीहरूसँग तालमेल गरी ती पार्टीहरूले गरेका गलत कामको भारी आफूहरूले बोक्न नचाहेको जनमत पार्टीका नेताहरूको भनाइ छ । 

मधेस प्रदेशमा जसपा बलियो हुने कि लोसपा बलियो हुने भन्ने होडबाजी छ । यो होडबाजीमा पछिल्लो समय जनमत पार्टी पनि दौडिएको छ ।

अन्य ३ दलहरू तमलोपा, जनता प्रगतिशील तथा नागरिक उन्मुक्ति पार्टी भने दौडमा पछि छन् । गत भदौमा जसपालाई फुटाएर महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी अनिल झा लगायतका नेताहरूले निर्वाचन आयोगमा लोसपा दर्ता गराएका थिए । 

आयोगमा लोसपा दर्ता गराएको केही महिनापछि नै विर्खेशचन्द्र लाल, विजय सिंह लगायतका नेताहरूले पुरानो तमलोपालाई सक्रिय बनाएका थिए । 

‘जसपाबाट फुटेर लोसपा बन्यो, लोसपा फुटेर तमलोपा बन्यो । त्यसैले यी तीन दलबीच तालमेलको सम्भावना रहेन’ जसपाका एक केन्द्रीय सदस्यले भने, ‘अन्य तीन साना दलसँग तालमेल गर्नुको कुनै फाइदा छैन । त्यसकारण  मधेसमा ६ दल एक्ला एक्लै चुनाव लडे ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ