arrow

म त्यही हुँ एक नारी                       

logo
मनोज लामिछाने,
प्रकाशित २०७९ वैशाख १२ सोमबार
manoj-lamichhane.jpg

थोरैको रहर र धेरैको करको बीचमा हुर्किएको ।          
समानताको अर्थ खोज्दै सधैँ रुमलिएको ।।
भाइ जन्मिदा घरमा खसी काटिएको ।
म जन्मेको दिनमा आमाले अपहेलित हुनुपरेको ।।
हो म त्यही हुँ एक नारी।।

सानैमा हजुरआमाले कुच्चो समात्न सिकाएको ।
आमाले मेरो दौरा खोसी जामा लगाइदिएको ।।
मेरा साना हातहरूमा बालेपुतली थमाई दिएको ।
तैँले धेरै बोल्न हुन्न भनी हजुरबाको सधैँ हप्की खाएको ।। 
हो म त्यही हुँ एक नारी।।

त अरूको घरको नासो होस् भनी सधैँ सुन्नुपरेको । 
जन्मेको आफ्नै घरमा पनि पराई हुनु परेको ।।
भाइ किताब च्यापेर बोर्डिङ स्कुल जाँदा ।
म हातमा लौरो बोकी गोठालो हिँड्नुपरेको ।।
हो म त्यही हुँ एक नारी।।

घरको कुनै शुभ कार्य हुँदा छुट्टै बस्न लगाइएको ।
घरको निर्णय प्रक्रियामा अर्थहीन सहभागिता गराइएको ।।
मेरा हरेक चाहनालाई सधैँ कुण्ठित बनाइएको ।
अरूका उज्यालोका निम्ति हरेक दिन स्वयं बल्नु परेको ।। 
हो म त्यही हुँ एक नारी।।

नारी दुर्गा, माता, सरस्वती हुन् भनी सधैँ भन्ने गरिएको ।
अरूका स्वार्थका लागि हजारौँ पटक प्रयोगमा ल्याइएको ।।
आफ्नै पहिचानका लागि आफैसँग सधैँ लड्नु परेको ।
अरूका हरेक खुशीका लागि आफू सधैँ जल्नु परेको ।।
हो म त्यही हुँ एक नारी।।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ