arrow

लोसपा सरकारमा जाने चर्चा, प्रधानमन्त्री र ठाकुरबीच कुराकानी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
deuba-thakur.jpg
तस्बिर– फाइल

काठमाडौं । पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवासँग लोसपाका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताहरूले बारम्बार भेट गर्ने गरेका छन् । लोसपाका नेताहरूले देउवासँग सम्बन्ध बढाएका छन् । 

बुधबार देउवासँग लोसपाका अध्यक्ष ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झा र सर्वेन्द्रनाथ शुक्लले भेट गरेका छन् । लोसपा सरकारमा जाने विषयमा भेट भएको बुझिएको छ ।
 
लोसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले बुधबार प्रधानमन्त्री र लोसपाका नेताहरुवीच भेट भएको बताए । लोसपाले राखेका माग सम्बोधन गर्ने विषयमा भेट भएको झाले बताए । लोसपाले राखेका माग सम्बोधन भएमा पार्टी सरकारमा जान सक्ने उनले बताए । 

पछिल्लो एक डेढ महिनाको अवधिमा देउवासँग ठाकुरले कुराकानी गरेको यो चौथौ पटक हो । तीन पटकसम्म लोसपाका नेताहरूले भेटेका छन् भने एक पटक देउवा र ठाकुरबीच टेलिफोनमा कुराकानी भएको छ । 

देउवासँग भेट भएको भोलिपल्ट बिहीबार लोसपाले कार्यकारिणी समितिको बैठक बोलाएको थियो । बैठकमा अधिकांश कार्यकारिणी सदस्यहरूले पार्टीले उठाएको माग सम्बोधन भएमा पार्टी सरकारमा जान सक्ने धारणा राखेको झाले बताए । 

अहिले रक्षा र उद्योग वाणिज्य मन्त्रालय रिक्त रहेका छन् । देउवा यी दुई वटा मन्त्रालय लोसपालाई दिन तयार रहेका छन् । लोसपाका नेताहरुले भने कम्तीमा तीन वटा मन्त्रालय मागेका छन् । प्रधानमन्त्री भारत भ्रमणबाट फर्के लगत्तै लोसपा सरकारमा जाने विषयमा ठोस प्रगति हुन सक्ने बताइएको छ । 

लोसपाले सरकारसँग संविधान संशोधन हुनुपर्ने, लाल आयोग प्रतिवेदन सार्वजनिक हुनुपर्ने, मधेस आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दा खारेज हुनु पर्ने, नागरिकता विधेयक पास हुनु पर्ने, रेशम चौधरीको रिहाइका लागि पहल गर्नु पर्ने माग राखेको छ । 

मधेस आन्दोलनको क्रममा लगाइएका मुद्दा खारेज गर्न तत्कालीन केपी शर्मा ओली सरकारले प्रक्रियासमेत शुरु गरेको थियो । 

देउवा प्रधानमन्त्री भएपछि सरकारले उठाएको एमसीसी लगायत विभिन्न विषयमा लोसपाले देउवालाई सहयोग गर्दै आएको छ । देउवा  प्रधानमन्त्री हुँदा लोसपाले देउवाको पक्षमा भोट दिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ