लोकप्रिय अभिनेता स्मिथले ओस्कर समारोहमा कमेडियनलाई किन हाने थप्पड ?
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १४ सोमबार
520
Shares
काठमाडौं । लोकप्रिय अभिनेता विल स्मिथले ओस्कर अवार्ड समारोहमा कमेडियन क्रिस रकलाई थप्पड हानेको विषय यतिबेला चर्चामा रहेको छ ।
अमेरिकाको लस एन्जलसस्थित डब्ली थिएटरमा ९४ औं ओस्कर अवार्ड समारोहमा विल स्मिथले उत्कृष्ट अभिनेताको उपाधि जिते । यद्यपि, यो भन्दा बढी चर्चा यतिबेला उनले हानेको थप्पडको रहेको छ ।
निकै दिग्गज अभिनेतामध्येका एक विल स्मिथले आफ्नी श्रीमती जाडा पिन्केट स्मिथलाई लागेको रोगलाई कमेडियन क्रिस रकले मजाक बनाएपछि थप्पड हानेका हुन् ।
जाडा पिन्केट स्मिथको कपाल एलोपेसियाका कारण झरेको छ । यो धेरैलाई हुने कपाल झर्ने समस्या हो । यो कुरालाई लिएर कमेडियन रकले समारोहमै मजाक उडाएका थिए ।
विल स्मिथकी श्रीमतीलाई यो कुराले दुख लागेजस्तो देखिन्थ्यो र उनी अलि रिसाए जस्तो देखिइन् । यस क्रममा विल स्मिथ सरासर स्टेजमा उक्लिएर रकलाई थप्पड हानेका हुन् । थप्पड हानेर सिटमा आएपछि पनि रक बोल्दा स्मिथले 'आफ्नो मुखबाट मेरो श्रीमतीको नाम नलेऊ' भने ।
कमेडियन रकले प्रतिकार नगरे पनि उनले यो रात टेलिभिजन इतिहासमै ठुलो रात भएको भन्दै कटाक्ष गरे । यो घटनाको करिब ४० मिनेटपछि विल स्मिथले सोही स्टेजबाट उत्कृष्ट अभिनेताको उपाधि जिते । उनले सो क्रममा भावुक हुँदै घटनाबारे माफी मागे तर, रकको नाम भने लिएका थिएनन् ।
अहिले कतिपयले विल स्मिथको आलोचना गरिरहेका छन्, भने कतिपयले कमेडियन रकको आलोचना गरिरहेका छन् । एलोपेसियाबाट पीडित अमेरिकी सांसद आयना प्रेस्लीले स्मिथको बचाव गर्दै ट्विट गरेकी थिइन् ।