arrow

बागमती प्रदेश सभा बैठक २० मिनेट बसेर स्थगित

logo
रविन्द्र गौतम
प्रकाशित २०७८ चैत ८ मंगलबार
bagmati-pradesh-hetuda1.png

बागमती । बागमती प्रदेश सभा बैठक मङ्गलवार २० मिनेट सञ्चालन भएर स्थगित भएको छ ।

सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् । दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक ४० मिनेट ढिलो गरी सुरु भएको थियो । बैठकले यस अघि सदनमा पेश भएको ३ वटा विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा  पठाउने निर्णय गरेको छ ।

बैठकले प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि छलफल गरी त्यसको दफावार छलफलका लागि समितिमा पठाउन स्वीकृति प्रदान गरेको हो । उक्त विधेयक सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बैठकमा स्वीकृतको लागि पेश गरेका थिए ।

बैठकबाट सदनमा रहेका विधेयकहरूको विषय टुङ्ग्याएर अधिवेशन अन्त्य गर्ने सरकारको तयारी रहेको बुझिएको छ । सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउन पर्ने भएकाले आज नै हिउँदे अधिवेशन अन्त्यको तयारी थालेको कानूनमन्त्री खनालले बताए । 

अधिवेशन अन्त्यका लागि आजको प्रदेश सभा बैठकपछि प्रदेशको मन्त्रिपरिषद् बैठक बस्ने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाले जनाएको छ । समय रहेसम्म आजै मन्त्रिपरिषद् बैठक बसेर प्रदेश सभाको अधिवेशन अन्त्य गरिने र समय अभाव रहे भोलि गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ