arrow

सकियो मिथिला माध्यमिकी परिक्रमा

logo
रासस
प्रकाशित २०७८ चैत ४ शुक्रबार
mithila_parikrama_.jpg

महोत्तरी । मधेश प्रदेशको प्राचीन मिथिलामा ‘महाकुम्भ’ भनिने मिथिला मध्यमा (माध्यमिकी) परिक्रमा सम्पन्न भएको छ । महोत्तरी, धनुषा र मित्रराष्ट्र भारतको मधुवनी जिल्लाका विभिन्न तीर्थस्थल घुम्दै १३३ किलोमिटरको वृत्ताकारमा गरिने १५ दिने मध्यमा परिक्रमा आज बिहान पावन नगरी जनकपुरधामको अन्तर्गृह परिक्रमा गरिएसँगै सम्पन्न भएको हो ।

कूल १५ दिनको यस यात्रामा महोत्तरीमा पाँच, धनुषामा छ र भारतको मधुवनी जिल्लामा चार रात्रि बासको परम्परा छ । जनकपुरधामको रङ्गभूमि मैदानमा १५ औँ दिनको रात्रीबास गरेर १६ औँ दिन बिहान जनकपुरधामको अन्तर्गृह परिक्रमा गरेपछि मध्यमा परिक्रमा सम्पन्न हुने परम्परा छ । 

जनकपुरधामको अन्तर्गृह भनिने परिक्रमालाई ‘पञ्चकोशी’ पनि भनिन्छ । फागुन औँसीका दिन धनुषाको ठेराकचुरीस्थित मिथिला विहारी मठबाट अवधविहारी (श्रीराम) को प्रतिमा राखिएको डोला बोकिएसँगै यो यात्रा प्रारम्भ हुन्छ । श्रीरामको डोला जनकपुर पुगेपछि अग्निकुण्ड स्थानबाट निस्कने श्री किशोरीजीको डोला मिसिएपछि यात्रा औपचारिकरुपमा प्रारम्भ हुने परम्परा छ ।

रामसीताका प्रतिमा राखिएका डोलासँगै गरिने यो यात्रा मोक्षदायक, कल्याणदायक र आरोग्यदायक हुने हिन्दू मैथिल जनविश्वास छ । त्रेता युगमा श्रीराम र श्री सीताजीको विवाहपश्चात् यो जोडिले विहारकै क्रममा मिथिलाका विभिन्न क्षेत्रको भ्रमण गरेको सम्झनामा मिथिला माध्यमिकी परिक्रमा परम्परा सुरु भएको महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका सन्त रवीन्द्रदास वैष्णव बताउछन् ।

“यो मर्यादा पुरुष्वत्तम श्रीराम र मिथिला नन्दिनी श्री जानकीजीको पदचिन्ह पछ्याउने यात्रा नै हो”, सन्त वैष्णव भन्छन्, “यो यात्राको अभिष्ठ आरोग्यता, कल्याण र मोक्षको कामना नै हो ।” हजारौँ हजार साधुसन्त, गृहस्थ जीवनका नरनारी १५ दिनभरि सांसारिक सबै कुरा बिर्सेर यो यात्रामा सहभागी हुँदै आएका परम्परा छ । मध्यमा यात्रा १८ औँ सताब्दीमा प्रारम्भ भएको मानिन्छ ।

मिथिलामा बृहत् मिथिला परिक्रमा, मध्यमा मिथिला परिक्रमा र अन्तर्गृह ९पञ्चकोशी० परिक्रमाको वर्णन मिथिला माहात्म्यमा गरिएको छ । हरिहरक्षेत्र, कोशी नदीसहित प्राचीन मिथिलाका सबै भेग पर्ने गरी हुने बृहत् मिथिला परिक्रमा अब हराइसकेको छ ।

अहिले बर्सेनि फागुन औँसीदेखि पूर्णिमासम्मको मध्यमा परिक्रमा हुँदैछ । यो परिक्रमा पनि अन्तर्गृह गरिएपछि पूरा भएको मानिन्छ । यद्यपि मध्यमा परिक्रमा गर्न नपाएका वा नभ्याएकाले यो पञ्चकोशी परिक्रमाबाटै मोक्षको कामना गर्छन् ।

फागुन शुक्लपक्षभरिको यो यात्रा रामसीताका पदचाप पछ्याउने भनिए पनि यससँगै अन्य परम्परासमेत जोडिएको पाइन्छ । यात्राको १५ औँ दिनको राति ‘होलिकादहन’ र १६ औँ दिन बिहान अन्तर्गृह परिक्रमा टुङ्ग्याइँदै गरिदा ‘धुरा’ उडाउने परम्परा रामजानकी यात्राभन्दा फरक प्रसङ्ग भएको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्राचार्य ईश्वरी पौडेल बताउछन् ।

‘होलिकादहन’ र ‘धुरा’ उडाउने सत्ययुगकालीन घटना स्मरण गरिएको विश्वास गरिन्छ । दानवराज हिरण्यकशिपुले विष्णुभक्त छोरालाई मार्न आगोले नपोल्ने अभय वरदान पाएकी बहिनी होलिकाको काखमा छोरा प्रह्लादलाई अग्निकुण्डमा राखिँदा होलीका आगोले भष्म भएकी पुराणमा वर्णन छ । 

विष्णुभक्त प्रह्लादलाई भने आगोले नछोएको कथामा उल्लेख छ । परिक्रमाको अन्तिम राति सोही घटनाको सम्झनामा दानवीय प्रकृतिकी होलीकाको अन्त्य भएको सम्झनामा उनको आकृतिलाई आगो लगाउने हिन्दू मैथिल परम्परा छ । भोलिपल्ट होलीका दहन गरिएको खरानीको धुलो उडाएर राक्षसी प्रवृति अन्त्य भएको खुसियाली मनाइएको पौराणिक कथालाई पछि ‘धुरा’ उडाउने भनिएको मानिन्छ ।

मिथिलामा मनाइने उल्लासको पर्व ‘होली’ यसै पौराणिक कथामा आधारित रहेको मैथिल बताउँछन् । सत्यको विजय र राक्षसी प्रवृत्तिको अन्त्यको प्रतिकका रुपमा ‘होली’ पर्व परम्परा चलेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीका सहप्राध्यापक ध्रुव राय बताउछन् । 

मध्यमा परिक्रमा यात्रा श्रीराम जानकीको पदचाप पछ्याउनै थालिएको र यसै अवधिमा सत्य युगकालीन भक्त प्रह्लाद सम्बन्धित घटना पनि जोडिएको हुँदा यात्रा परम्परामा ‘होलीका दहन’ र ‘धुरा’ उडाउनेसँगै होली पर्व परम्परा परेको पाका मैथिल बताउँछन् । जनकपुरधाममा ‘होली’ पर्व अन्तर्गृह परिक्रमामा ‘धुरा’ उडाइएको भोलिपल्ट मनाइने परम्परा रहँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ