arrow

बागमती प्रदेशसभा बैठक : दुईवटा विधेयक पारित

logo
रविन्द्र गौतम
प्रकाशित २०७८ फागुन २९ आइतबार
bagmati-pradesh-hetuda1.png

बागमती । बागमती प्रदेशसभाको आज बसेको बैठकमा २ वटा विधेयक पारित भएको छ भने ३ वटा ऐन संशोधनका विधेयकहरू पेश भएको छ । बैठकले प्रदेश पर्यटन विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।

बैठकमा सम्बन्धित समितिको प्रतिवेदनसहित प्रस्तुत गरेको प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सामाजिक विकास मन्त्री कुमारी मोक्तानको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले प्रस्तुत गरेका थिए ।

यसैगरी, सम्बन्धित समितिको प्रतिवेदनसहितको प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पर्यटन तथा संस्कृति मन्त्री दीपेन्द्र श्रेष्ठको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले प्रस्तुत गरेका थिए । पारित भएका दुवै विधेयकहरू अब ऐन बन्ने छन् ।

आजै बसेको प्रदेशसभाको दोस्रो बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले संशोधनका लागि संसद्मा प्रस्तुत गरेको प्रदेश विपद् व्यवस्थापन ऐन २०७५, प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ माथिको सैद्धान्तिक पक्षमा छलफल भएको छ । छलफलमा सत्तापक्ष, प्रमुख प्रतिपक्ष दल र प्रतिपक्ष दलहरूले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

उनीहरूले विपद् व्यवस्थापनका लागि स्थानीय तहमा हुने डोजरे विकासलाई न्यूनीकरण गर्नुपर्ने तथा बायो इन्जिनियरीङ्गका प्रविधिहरू अपनाउन प्रदेश सरकार संवेदनशील हुनुपर्ने धारण राखेका थिए । सरकार विपद् पछि राहत वितरण भन्दा पनि विपद् न्यूनीकरणका लागि पूर्व तयारीमा लाग्नुपर्नेमा जोड दिइएको थियो ।

प्रमुख प्रतिपक्ष दलका नेताहरूले सरकारले गलत सूचना सम्प्रेषण गर्ने सञ्चार माध्यमलाई कारबाहीको दायरामा ल्याउन सक्ने ऐन बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले कर्मचारी र कार्यकर्ताहरूको तलब भत्ता वितरणमा केन्द्रित हुनु भन्दा पनि गलत सूचना सम्प्रेषण गर्ने सञ्चार माध्यमलाई कारबाहीमा ल्याउने ऐन बनाउन माग गरेका थिए ।

त्यसै गरी, बैठकमा प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकप्रति दलगत र गुट-उपगुटको स्वार्थ भन्दा माथि उठेर प्रदेश सरकारले जनतालाई शान्ति सुरक्षा पुर्‍याउन, मानव अधिकारको प्रत्याभूति गर्न, जनतालाई विकास र आर्थिक समृद्धितर्फ आत्मनिर्भर बनाउन निष्पक्ष भूमिकाको खाँचो परेको बताएका थिए ।

सो बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए । विगत करिब ३ महिनादेखि सदनमा अवरोध गर्दै आएको एमालेले उनको जवाफ पछि भने सदन चल्न दिएको छ ।

प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने गरि स्थगित भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ