काठमाडौं । अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले शुक्रबार अन्तिम दिन श्रीलंका राष्ट्रिय टिमका पूर्व खेलाडी सम्मिलित श्रीलंका कम्बाईन ११ विरुद्ध खेलिरहेको छ । श्रीलंकन टोलीले नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
नेपालले आजको खेलमा शुरुआती चरणमा फितलो बलिङ गरेको भए पनि त्यसपछि भने आक्रामक खेलेको छ । यसअघिका तीन वटा अभ्यास खेलमा जित हात पार्दा बलिङ हावी रहेको थियो । पहिलो र दोस्रो खेलमा बलिङ हावी रहे पनि तेस्रो खेलमा दुवै चलेको थियो ।
तर यो अन्तिम खेलमा भने नेपालले कमजोर बलिङ शुरुआत गरेको थियो । श्रीलंकाले १० ओभरमै विना कुनै विकेट गुमाएर ६१ रन बनाएको थियो ।
तर त्यसपछिको स्पेल भने नेपालले आक्रामक र सनसनीपूर्ण गरेको थियो । ६८ रन जोड्दा पहिलो विकेट लिएको नेपालले त्यसपछि लगातार विकेट लियो । ९५ रन जोड्दा श्रीलंकाले महत्वपूर्ण ५ विकेट गुमाएको थियो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिएका छन् ।
अभ्यास खेल सकिएपछि नेपाली टोली श्रीलंकाबाटै १४ मार्चमा यूएई प्रस्थान गर्ने छ । नेपालले लिग–२ अन्तर्गतको आफ्नो तेस्रो शृंखलामा यूएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।