arrow

पल–समीक्षा प्रसङ्गः सस्तो माया र संवेदनहीनताको पराकाष्ठा 

logo
सरू भट्ट (सरस्वती)
प्रकाशित २०७८ फागुन १७ मंगलबार
saru-bhatta.jpg
तस्बिर– फाइल

पल–समीक्षा विषयले ठूलो बजार पायो । युट्युब च्यानलले त कति सफलता कमायो नगन्य होला । तर यो मन रोक्दा रोक्दै कलम चलिहाल्यो । आज बेफुर्सदी समय र सचेतनाका कारण बच्चाबच्ची कम जन्माउने चलनसँगै बालबच्चा अभिभावकका कमजोरी बनिरहेका छन् । चाहिने भन्दा बढी मायाले पनि मानिसको वास्तविक जीवनबाट टाढा पुर्याउँछ । 

बालबच्चालाई उमेर अनुसारको शिक्षा, अनुशासन र कर्तव्यको बाटोमा कसरी डोहोर्याउने भन्ने अभिभावकको ठूलो दायित्व हो । मायाको अनियन्त्रित प्रयोग र सस्तो स्वतन्त्रताले वास्तविक मानिस हुनबाट मानिस चुकिरहेको छ । 

पल शाह नेपाली सिने क्षेत्रको चिर परिचित अनुहार ! लामो संघर्ष पश्चात् स्थापित कलाकार । सामान्य गाउँले छोरा । उद्देश्यको यात्रामा दत्तचित्त लागिरहेको शालीन लाग्ने युवा । समीक्षा नानी उस्तै एउटा गाउँले चेली भर्खर–भर्खर रंगीन दुनियाँको रंगमा घुलमेल हुँदै गरेकी उदीयमान गायिका । हाम्री छोरी ।

सुन्दा पनि दुःख लाग्यो प्रसारित घटना परिघटना । बिचरा दुवैका अभिभावकलाई के बित्यो होला ? सामान्य दैनिकीबाट छोराछोरीको सुन्दर सपना बोकेका ती बालिकाका आमा बाबु !

हुन त दोष उहाँहरुको पनि हो । १४–१५ कि संवेदनशील उमेरमा रहेकी छोरीलाई विना संरक्षण कलाकारिताको नाममा घरबाट टाढा पठाउनु । विकसित मुलुकमा पनि १८ वर्ष पूरा नगरी छोरी हुर्किएको मानिँदैन र आमाबाबुको संरक्षण दिइन्छ । 

२१ वर्ष पूरा नगर्दासम्म मदिरा प्रयोगमा कडाइ गरिन्छ । हाम्रो जस्तो सस्तो देखासिकीमा चल्ने समाजमा परिवर्तनको नाममा विकृति फैलिएको छ । 

यसैको प्रतिनिधि पात्र हुन् समीक्षा । उमेरको दोष भनौं भने त्यही उमेरको उर्जाले उनको नामको अगाडि गायिका थप्यो । 

त्यसैले यो घटनालाई दुर्घटना भन्न मन लाग्यो । कलिलो उमेरको ठूलो सफलता पनि दुर्घटनाको कारण होला । भनिन्छ भाग्यमा भन्दा धेरै र समय भन्दा अगाडि केही हुँदैन । 

सायद यी दुई होनहार पात्रको जीवनमा यही हुनु थियो कि ! तर यसो भन्दैमा असावधानी बन्न मिल्दैन । मानव जीवन आफ्नो लागि भन्दा पनि अरुको भलाइको लागि हो । 

तर यहाँ यी दुई कलाकारको विषयले मानवीय संवेदनहीनको बलियो उदाहरण पस्किरहेको छ ।

अधिकार र कर्तव्य एक सिक्काका दुई पाटा हुन् । तर आज लैंगिक अधिकारको आडमा सामाजिक न्यायको सिद्धान्त बाझिएको देखिन्छ । 

लिङ्ग विशेष न्यायको वर्गीकरण गरिँदा सामाजिक विकृति बढ्दो छ । लैंगिक आधारमा नभएर गुण र दोषको आधारमा कानूनले प्राथमिकता पाउनु पर्दछ । 

प्रसङ्ग पल र समीक्षातिरै मोडिँदा संवेदनहीन बनेर एकले अर्कोलाई नङ्ग्याउनु भन्दा गुण र दोषको आधारमा न्याय पाउनु पर्छ । 

आज महिला अधिकारका नाममा पुरुष पीडित हुने क्रम बढ्दो छ । सामाजिक मान्यता, मानवीय धर्म र कर्तव्यको पाटोलाई एकातिर पन्छाएर सस्तो स्वतन्त्रताले कर्तव्यविमुख हुँदै गएको नारी स्वतन्त्रता समानताको बाधक बनिरहेको छ । 

नानी समीक्षाप्रति पूर्ण सहानुभूति राख्दै कसैको प्रलोभनमा नपर्न र इमानदार नेपाली नागरिक बनेर तिम्रो प्रतिभालाई अगाडि बढाउनु साथै नायक पल शाह पनि गल्ती गरेको भए सजायको भागेदार र नगरेको भए हिजोको जस्तै कलाकारितालाई जीवन्त राख्दै आइपरेको समस्यालाई अनुभव मान्दै अगाडि बढुन् । मानवीय त्रुटीलाई सच्याउँदै अगाडि बढ्नु नै जीवन हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ