arrow

गठबन्धन भत्कने डरले हतार हतारमा पर्यटन बोर्डमा नियुक्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ८ आइतबार
tourism-board.jpg
तस्बिर– फाइल

काठमाडौं । सत्ताधारी गठबन्धन भत्कन सक्ने डरले सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले हतार हतारमा नेपाल पर्यटन बोर्डमा दुई जना बोर्ड सदस्य नियुक्त गरेका छन् । 

आलेले बोर्डका उपाध्यक्ष चन्द्र रिजाललाई बोर्ड सदस्यमा लिला लामा र मदन आचार्यलाई नियुक्त गर्न लगाएका छन् । रिजालले शुक्रबार साँझ लामा र आचार्यलाई नियुक्त गरेको स्रोतले बतायो । 

आलेले कार्यविधि नबनाएरै बोर्ड सदस्य नियुक्त गरेका छन् । बोर्ड सदस्यमा नियुक्त गरिएका दुई जनामध्ये लामा विवादास्पद व्यक्ति हुन । ‘लाजिम्पाटमा एउटा क्याफे चलाउने बाहेक पर्यटन क्षेत्रमा उनको अनुभव र योग्यता छैन’ स्रोतले भन्यो । 

स्रोत भन्छ, ‘लामालाई सदस्यमा नियुक्त गर्न बोर्ड उपाध्यक्ष रिजालको पनि हात रहेको छ । बोर्डको अध्यक्ष पर्यटन मन्त्रालयका सचिव हुने व्यवस्था छ । बोर्ड सदस्य नियुक्तिको लागि सिफारिश गर्न मन्त्रालयका सहसचिव होम लुइटेलको संयोजकत्वमा एउटा समिति गठन गरिएको थियो । 

उक्त समितिमा आरोही माया शेर्पा र पर्यटन व्यावसायी राजेन्द्र सापकोटा सदस्य रहेका छन् । समितिले शुक्रबार नै प्रतिवेदन बुझाएको थियो । समितिले प्रतिवेदन बुझाउनु बित्तिकै लामा र आचार्यलाई नियुक्त गरिएको स्रोतले बतायो । 

पर्यटन बोर्ड ११ सदस्यीय हुने व्यवस्था गरिएको छ । जसमा बोर्ड अध्यक्ष पर्यटन मन्त्रालयको सचिव र बोर्डको कार्यकारी अधिृकत बोर्डको सदस्यसचिव हुने व्यवस्था छ । बोर्डमा पाँच जना सरकारी तर्फबाट र पाँच जना निजी क्षेत्रबाट प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ । लामा र आचार्यलाई निजी क्षेत्रबाट प्रतिनिधित्व गराइएको छ । 

बोर्ड स्रोतका अनुसार बोर्ड सदस्यमा नियुक्त गरिएका लामा र आचार्यमध्ये आचार्य नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सँग निकट मानिन्छन् तर लामाको भने समाजवादी पार्टीसँग कुनै साइनो छैन । 

पर्यटनमा आएपछि आलेले पुराना नियुक्ति सबै खारेज गरी सबै ठाउँमा आफ्ना मान्छे भर्न अभियान नै शुरु गरेका छन् । 

उनले नागरिक उड्डयन प्राधिकरण (क्यान) मा१२ जना वरिष्ठ कर्मचारीलाई पाखा लगाएर कनिष्ट कर्मचारी त्यसमा पनि विवादास्पद कर्मचारी प्रदीप अधिकारीलाई महानिर्देशक बनाएका छन् । ‘यसबाट पनि मन्त्री ज्युको नियत नियत छर्लङ हुन्छ’ पर्यटन मन्त्रालयकै एक कर्मचारी भन्छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ