arrow

रामकृष्ण परमहंस 

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७८ माघ २७ बिहिबार
ramkrishna-paramhans-final.jpg

श्री शिवपुरी बाबालाई बेलायतबाट आएका दार्शनिक जोन जी. बेन्नेटले केही प्रश्नहरू राख्ने सिलसिलामा श्री रामकृष्ण परमहंसलाई किन क्यान्सर लागेको होला भनेर प्रश्न गरेका थिए । श्रीबाबाले उनलाई यो त शरीरको रोग हो, आउँछ, जान्छ भनेर जवाफ दिनु भएको थियो । श्री रामकृष्णलाई क्यान्सरले छोएको थियो र त्यसैको निहुँमा उहाँको भौतिक शरीरले मृत्यु वरण गर्नुपर्‍यो। उहाँमा त्यस रोगको बारेमा केही पनि वास्ता हुँदैनथ्यो भन्ने कुरा उहाँका बारेमा लेखिएका साहित्यमा पढ्न पाइन्छ । 

श्री रामकृष्णको जन्म सन् १८३६ को फेब्रुअरी १६ तारिखका दिन भएको थियो । उहाँको पिता खुँदिराम पश्चिम बङ्गालको हुगली जिल्लाको ग्रामीण भेगमा बस्नु हुन्थ्यो । स्पष्टवादिता र परमार्थप्रति समर्पितहरू यदाकदा समाजमा अपहेलित तथा थिचो मिचो हुन जाने छंदैछ । त्यस्तै प्रकारको घटना खुदीरामलाई पनि घट्न गयो । 

गाउँका एक जना जमिन्दारले खुदीरामलाई भूठो विषयमा साक्षी बस्न अनुरोध गरे तर उनले त्यो प्रस्ताव मानेनन् । जमिन्दारले भनेको कुरा नमानेपछि खुदीरामलाई गाउंबाँट निकालिने काम भयो । उनी सपरिवार त्यो ठाउँ छोडेर गए । 

उनलाई कामारपुकुर गाउँका एक सज्जन पुरुषले केही जग्गामा बस्न अनुरोध गरे र त्यसैबाट उहाँको परिवारलाई गुजारा चल्न सक्यो । उहाँ ६० वर्षको उमेर हुँदा आफ्ना दिवङ्गत पितृहरूको श्राद्ध, तर्पणका लागि गयाजीमा जानु भएको थियो । त्यहाँ उहाँले विष्णु भगवान्ले आफू पुत्र रूपमा उनको घरमा अवतरित हुने कुरा बताउनु भएको सपना देख्नु भएको रहेछ । त्यसै गरी आमाले पनि शिवजीको सपना देख्नु भएको रहेछ । 

नभन्दै घरमा आएको केही समयमा उहाँकी धर्मपत्नी गर्भवती भएको कुरा चाल पाउनु भएछ र भगवान् अवतरित हुने कुराको प्रतीक्षा गर्दै दिन बिताएको केही महिना पछि एक वालकले जन्म लिए । ती वालकको नाम गदाधर राखियो । पछि यही वालक रामकृष्ण परमहंसको नामले संसारभर परिचित भए । 

गदाधर सात वर्षको हुँदा उनको पिताजीको देहान्त भयो । आफ्नो आमाको साथ रहँदा रहँदै आमासँगै घरको काममा सहयोग गर्दै वालकको समय बित्यो । केटाकेटी हुँदाको बखत देखिनै उनी रामायण, भागवत, गीता आदिको चर्चा गर्ने, सुन्ने र दौंतरीहरु सँग पनि त्यही चर्चा गर्दै उनको समय बित्यो र समय बित्दै जाँदा सन् १८५९ मा २३ वर्षको उमेरमा उनको विवाह शारदा देवी सँग भयो । उहाँका शिक्षाका बारेमा आगामी हप्ता केही चर्चा गरिने छ । (क्रमशः....)  

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।) इमेल :aamodita@gmail.com 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ