काठमाडौं । धार्मिक सिरियल महाभारतका भीमको निधन भएको छ । महाभारतमा भीमको भूमिका निभाएका प्रवीण कुमार सोबतीको ७४ वर्षको उमेरमा आज निधन भएको हो । उनी विगत केही वर्षदेखि बिरामी थिए ।
उनको निधनले मनोरञ्जन क्षेत्रमा शोकको लहर छाएको छ । गत वर्ष प्रवीणले आर्थिक सङ्कटको सामना गरिरहेको खबर बाहिरिएको थियो । तर उनले आफूलाई पैसाको समस्या नभएको बताउँदै आएका थिए ।
प्रवीण अग्लो उचाइका कारण निकै चर्चित थिए । उनी अभिनेताका अलावा एथलेटिक्स खेलाडी पनि हुन् । उनले ह्यामर र डिस्क थ्रोमा धेरै पदक जितिसकेका छन् । बीएसएफका पूर्व डेपुटी कमाण्डेन्ट रहेका प्रवीणले एसियाली र कमनवेल्थ गेम्समा पनि भारतको प्रतिनिधित्व गरिसकेका छन् ।
उनले हङकङमा भएको एसियाली खेलकुदमा भारतका लागि स्वर्ण पदक जितेका थिए । उनले सन् १९६० र ७० को दशकमा एथलेटिक्समा पनि निकै लोकप्रियता हासिल गरेका थिए।
केही समयअघि प्रवीणकुमारले जीविकोपार्जनका लागि पेन्सन मागेका थिए । आफ्नो आर्थिक सङ्कटको जानकारी दिँदै उनले सरकारसँग सहयोग पनि मागेका थिए । आर्थिक अभावबारे कुरा गर्दा उनले आफूलाई पैसाको समस्या नभएको बताएका थिए । उनी आफूसँग भगवान्ले दिएको सबै कुरा रहेको बताउँथे । 'मसँग यति धेरै पैसा छ कि जब म संसार छोड्छु, म केही छोड्छु।' उनको भनाइ थियो ।