arrow

सेटिङमा सरुवाः वरिष्ठलाई बरण्डामा राखेर कनिष्ठलाई जिम्मेवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २९ बिहिबार
renu-yadav.gif
तस्बिर– फाइल

काठमाडौं । भौतिक पूर्वधार तथा यातायात मन्त्रालयमा रेणु यादव आएपछि कमिशन र आर्थिक प्रलोभनमा परेर नीतिनियम नै भत्काएको कर्मचारीहरुले आरोप लगाएका छन् । सडक आयोजना र विभागमा गरिएको सरुवामा कर्मचारीहरुमा नै असन्तुष्टि चुलिएको छ ।
 
खासगरी ठूलो बजेट भएका सडकका आयोजनाहरुमा एक महिनामै आयोजना प्रमुखहरु पटक पटक फेरिन थालेका छन् । कतै वरिष्ठ हुँदाहुँदै वरिष्ठलाई मन्त्रालयको बरण्डामा राखेर कनिष्ठलाई जिम्मेवारी दिइएकोमा असन्तुष्ट पनि असन्तुष्टि बढेको छ । जनता समाजवादी पार्टी जसपा स्रोतका अनुसार मन्त्री रेणु यादवले केही निर्माण व्यवसायीहरुको प्रस्तावमा मनपरी गर्न थालेपछि जसपा अध्यक्ष उपेन्द्र यादव समक्ष पनि उजुरी परिसकेको बताइएको छ । 

चुनावको बेला रेणुले पार्टीको छवि बिगारेको जसपाका नेताहरुको बुझाइ छ । मन्त्री र सचिवलाई मिलाएर सडकका प्रमुखहरुको सरुवाको सेटिङ मिलाउने काम निर्माण व्यवसायी राजकिशोर गुप्ताले गर्दै आएको आरोप लागेको छ । 

मन्त्रालय स्रोतका एक कर्मचारीका अनुसार सम्पर्क कार्यालय नै खोलेर गुप्ता कर्मचारीहरुको सरुवाको सेटिङ मिलाउने र ठूला टेण्डरको काम मिलाउन लागिपरेका छन् ।

गुप्ता कहिलेकाहीँ मन्त्रालयमा जाने गर्छन् । ‘उहाँ औपचारिक रुपमा मन्त्रीज्यूको सचिवालयमा त हुनुहुन्न तर उहाँको शक्ति र पहुँच स्वकीय सचिव भन्दा धेरै माथि छ’ मन्त्रालयका एक उपसचिवले भने । 

राजनीतिक हिसाबमा जसपासँग नजिक नभए पनि आर्थिक कारणले यति नजिक भए कि सचिव भन्दा पनि उनी प्रिय छन् । चार महिनामै अवकाश पाउन लागेका शिवहरी सापकोटालाई रेणुले सडक विभागको महानिर्देशक बनाएकी छिन् ।

अर्जुनजंग थापाले सडकमा नौ महिना पनि काम गर्न पाएनन् । अर्जुनभन्दा पहिले उक्त विभागको महानिर्देशकमा केशव शर्मा थिए ।

चार महिनामै अवकाश पाउन लागेका सापकोटालाई किन महानिर्देशक बनाउनु पर्यो ? एक वर्षभित्र अवकाश पाउन लागेको कर्मचारीहरुको सरुवा गर्न नमिल्ने कानूनमा व्यवस्था छ । माथिल्लो तहका कर्मचारीको हकमा छ महिनाभित्रै अवकाश पाउन लागेको व्यक्तिलाई अर्को महत्वपूर्ण जिम्मेवारी दिइने गरिँदैन ।
 
पुलकै विषयमा पीएचडी गरेका सहसचिव विजय जैशीलाई रेणुले पेल्नुसम्म पेलेकी छिन् । एक महिनामा उनलाई तीन पटक सरुवा गरिएको छ । एक महिना अघि उनलाई पुल महाशाखाबाट उत्तर दक्षिण तथा व्यापापरिक मार्ग आयोजनामा पुर्याइयो ।  

एक महिना नबित्दै उनको फेरि सरुवा भयो । अहिले उनलाई उत्तर दक्षिण आयोजनाबाट सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय बबरमहलमा ल्याइएको छ । पुल महाशाखामा उमेश श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।  

यसैगरी अर्का डिभिजन इञ्जिनियर मुकुन्द अधिकारी पनि मन्त्रीको कोपभाजनमा परेका छन् । एक महिनामै उनलाई एक पटक सरुवा गरिएको छ । एक महिनाअघि पाल्पा सडक  डिभिजन कार्यालयबाट गल्छी–स्यार्फोबेसी–रसुवागडी सडकमा ल्याइयो । 

एक महिना पनि नबित्दै त्यहाँबाट सडक विभागमा तानिएको छ । एक महिनामा एक पटक सरुवा हुनेमा अर्का सडक डिभिजन इञ्जिनियर मेघलाल मरासिनी पनि हुन् । 

एक महिनाअघि उनलाई मध्यपहाडी मार्ग पर्वतबाट काभ्रे लगियो । अहिले उनलाई काभ्रेबाट सडक विभागमा तानिएको छ । डिभिजन कार्यालय इलाम र पाल्पा पनि सरुवा गरिएको छ । 

मन्त्रालयको आवश्यकता हेरेर सामान्य प्रशासनसँग सहमति लिएर नै न्यूनसंख्यामा सरुवा गरिएको मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख तुलसी गौतमको दाबी छ । उनले यसो भनिरहँदा पनि माथिका कतिपय उदाहरणहरुले आवश्यकता मात्रै हो भनेर पत्याउन सकिने अवस्था भने छैन ।
     
सडक विभागको सम्भार महाशाखाका प्रमुख भीमार्जुन अधिकारीलाई जिम्मेवारीविहीन बनाइएको छ । उनलाई यतिसम्म अपमान गरिएको छ कि बस्ने कोठासमेत दिइएको छैन । अहिले उनी मन्त्रालयको बरण्डामा बस्ने गर्छन् । अधिकारीको ठाउँमा उनीभन्दा निकै जुनियर प्रभात झालाई ल्याइएको छ । 

यस्तो चाँजोपाँजो मिलाउने काम निर्माण व्यवसायी गुप्ताले गरेका थिए । कतिपयले यी सरुवामा आर्थिक गन्ध आएको बताएका छन् ।

रेणुले राष्ट्रिय गौरवको आयोजनामा पनि सरुवा गरेकी छन् । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर पाल्पामा उनले निकै जुनिएर कल्पना अधिकारीलाई जिम्मेवारी दिएकी छिन् । 

रेणुले उपसचिव सरहका कर्मचारीहरुलाई बरण्डामा राखेर शाखा अधिकृत सरहकी कल्पनालाई त्यति ठूलो जिम्मेवारी दिएकी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ