क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने
निरंजन कुमार साह,
प्रकाशित २०७८ पुष २३ शुक्रबार
945
Shares
जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर प्रमुख कारक धुम्रपान न्युनिकरणमा प्रदेश सरकार कडाईका साथ प्रस्तुत हुने बताएका छन् ।
नेपाल अर्बुद रोग निवारण संस्थाको ३१ औ केन्द्रीय सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै मुख्यमन्त्री राउतले क्यान्सर पीडितहरुलाई प्रदेश सरकारबाट मासिक भत्ता उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गराए।
प्रदेश सरकारबाट क्यान्सर पीडितहरु उपचारका लागि एक लाख राहत पाउदै आएकोमा अब कानून नै बनाएर उपचार खर्चको साथै मासिक भत्ताको समेत व्यवस्था गरिने मुख्यमन्त्री राउतले बताए ।
प्रदेशमा क्यान्सरको उपचार हुन नसकेको अवस्थामा संस्थाले लहानमा स्थापना गर्न लागेको क्यान्सर अस्पतालमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने जानकारी गराए ।
प्रदेशको स्वास्थ्य संस्थाहरुको अवस्था दयनीय रहेको अवस्थामा प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेर सुधारको प्रयास थालेको बताए । मुख्यमन्त्री राउतले प्रादेशिक जनस्वास्थ्य ल्याब मुलुककै नमूना ल्याबको रुपमा स्थापित हुन लागेको दावी समेत गरे।
संस्थाका कार्यवाहक अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा भएको उदघाटन समारोहमा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठ सहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।