arrow

प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने निश्चित, यस्ताे बन्दै छ कार्यतालिका

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
deuba-modi-20222211.png
तस्बिर– फाइल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा गुजरात राज्यको गान्धीनगरमा आयोजना हुन लागेको दशौँ ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा सहभागी हुन भारत भ्रमण जाने निश्चित भएको छ ।

प्रधानमन्त्री देउवाको भ्रमण कार्यतालिका र व्यवस्थापनको कामहरू भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो । गान्धीनगरमा जनवरी १० देखि १२ (पुस २६ देखि २८) गतेसम्म भाइब्रेन्ट गुजरात ग्लोबल समिट हुँदैछ ।

प्रधानमन्त्री देउवा २५ गते नै भारत भ्रमणमा जाने गरी तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । 'भ्रमणमा जाने निश्चित भइसकेको हो, तर टिकेट कन्फर्म हुन बाँकी छ, र मन्त्रिपरिषद्बाट पनि स्वीकृत हुन बाँकी छ,' परराष्ट्रका एक अधिकारीले भने ।

प्रधानमन्त्री देउवा सम्मेलनलाई लक्षित गरेर भ्रमणमा जान लागे पनि द्विपक्षीय छलफलका लागि अन्य 'साइडलाइन मिटिङ' समेटेर भ्रमणको एजेन्डा बन्दैछ ।

भ्रमणका विभिन्न एजेन्डाहरूमध्ये केही टुङ्गो लागिसकेको र केही बाँकी रहेको ती अधिकारीले बताएका छन् । प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति रामनाथ कोविन्दसँग सम्भवतः भ्रमणको पहिलो दिनमै भेटवार्ता गर्ने छन् ।

यसअघि गत कार्तिक १६ मा संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप २६ मा सहभागी हुन स्कटल्यान्डमा रहेका बेला प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता भएको थियो ।

सन् २००३ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री हुँदा यसको अवधारणा अघि सारिएको थियो । प्रत्येक दुई वर्षमा आयोजना हुने यो शिखर सम्मेलन सामाजिक एवं आर्थिक विकासका लागि व्यापार नेटवर्किङ, ज्ञान र रणनीतिक साझेदारीका लागि प्रतिष्ठित वैश्विक फोरमको रूपमा विकसित हुँदै गएको छ ।

यस पटकको भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा विश्वका प्रभावशाली व्यक्ति, लगानीकर्ता र राजनीतिक व्यक्तित्व गरेर १३५ देशका ४० हजार भन्दा बढीको सहभागिता रहने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ