बेमौसमी वर्षाले बुटवल औद्योगिक मेला स्थगित, लाखौं रुपैयाँ बराबरको घाटा
नारायण वली,
प्रकाशित २०७८ पुष १४ बुधबार
709
Shares
रुपन्देही । गए रातिदेखि परेको हिउँदे बेमौसमी वर्षा गर्दा ६ दिन यता सञ्चालन हुँदै आएको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला स्थगित हुन पुगेको छ ।
वर्षाका कारण बुधवारका प्रस्तावित कार्यक्रमहरु स्थगित भएको मेला आयोजकका संयोजक गोविन्दप्रसाद गैरेले बताएका छन् ।
वर्षा रोकिएपछि भने पूर्व निर्धारित रूपमा मेलालाई निरन्तरता दिने संयोजक गैरेले बताए। उनले भने वर्षाका कारण मेला स्थगित हुँदा लाखौँ रुपैयाँ घाटा व्यहोर्नु परेको जनाए।
संयोजक गैरेका अनुसार मेला भित्रका स्टलहरूमा वर्षाका कारण कुनै स्टलहरूमा राखिएका सामानहरूमा क्षति पुर्याएको अवस्थामा आयोजकले आवश्यक सहयोग गर्ने जनाएका छन् ।
‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार विविधीकरण’ नाराका साथ चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला पुस ८ गतेदेखि २० गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।