arrow

लागु औषधका कुख्यात कारोबारी पाण्डे उर्फ मन्टुसहित ३ जना पक्राउ, स्थानीय खुशी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १२ सोमबार
druge-nawalarasi.PNG

नवलपरासी पश्चिम । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा लागु औषधका कुख्यात कारोबारी सहित ३ जनालाई पाल्हीनन्दन गाउँपालिका ३ कुश्मा चोकबाट पुस ९ गते शुक्रवारका दिन पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा लागु औषधका कुख्यात कारोबारी पाल्हीनन्दन गाउँपालिका ३ कुश्मा बस्ने विवेक पाण्डे उर्फ मन्टु, अर्को कारोबारी सोही ठाउँ बस्ने अब्दुल रहमान उर्फ चिन्कुल र सुनवल १ सोमनाथ बस्ने कृष्ण बहादुर पाण्डे रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट स्पास्मो १७४ क्याप्सुल, नाईट्रोभेट १९ ट्याब्लेट र कोडिन ३ बोतल लागु औषध बरामद गरेको छ । उनीहरू सँग बरामद यो लागु औषध कम मात्रा भए पनि उनीहरू कारोबारी भने पुराना र ठुला नै रहेको स्थानीय बताउँछन् । 

विगतका वर्षदेखि विवेक पाण्डे उर्फ मन्टु र अब्दुल रहमान उर्फ चिन्कुल भारतीय बजारबाट लुकाई छिपाई लागु औषध ओसारी घरबाट विक्री वितरण गर्दै आएका थिए । विवेक पाण्डे स्थानीय नाम मन्टु पाण्डे र अब्दुलरहमान स्थानीय नाम चिन्कुलबाट चर्चित छन् । लागु औषधबाट निकै लाभ गरिरहेका मन्टु र चिन्कुल जिल्लामै लागु औषधको कुख्यात कारोबारी भनेर चिनिने गरिन्छ । उनीहरू सँग लागु औषध किन्न जिल्लाको बर्दघाट, सुनवल, परासी, जमुवाड, स्वाठी, बनकट्टी, खैरेनी लगायतका ठाउँहरूबाट लागु औषध सेवनकर्ताहरूको कुश्मा चोकमा भिड्नै लाग्ने गरेको स्थानीयहरू बताउँछन् । 

मन्टु र चिन्कुल सहित केही कारोबारीहरू सोझा साझा बालबालिका तथा व्यक्तिहरूलाई आर्थिक प्रलोभन दिई भारतीय बजार ठुठीबारी, लक्ष्मीपुर र बरगादवाँ बजारबाट विभिन्न प्रकारका लागु औषधहरू खरिद गरि ओसार्न लगाउँथे र घरमा लुकाएर राख्थे । सेवनकर्ताहरू आएपछि वरपरका बगैँचा र खेतखरिहानमा लुकिछिपी महँगोमा लागु औषध बेच्ने धन्धा गर्दै आएका थिए । 

यिनीहरूको चर्तिकलाले स्थानीय युवाहरु बिग्रिहरेका थिए भने समाजमा नकारात्मक असर समेत परिरहेको स्थानीयहरू गुनासो गर्दै आएका थिए । लागु औषध कारोबारी मन्टु र चिन्कुलका विषयमा स्थानीयहरू प्रहरी, नेता तथा पत्रकार समेतलाई गुनासो गर्दै आएका थिए । तिनीहरूलाई स्थानीयले सुधारका लागि जति सम्झाए पनि उनीहरू आफ्नै धन्धामा व्यस्त रहने गर्दथे । 

प्रहरीले मन्टु र चिन्कुललाई रंगेहात पक्रन विगत केही महिनादेखि टार्गेटमा राखी योजना बुन्दै आएको थियो कि त्यो दिन आयो र प्रहरीलाई सफलता मिल्यो । प्रहरीको टोलीले कुश्मा चोकबाट ती कारोबारीहरूलाई लागु औषध सहित पक्राउ गरि लगेपछि स्थानीयहरू निकै खुसी भएको पाइन्छ । पक्राउ पर्ने ती तिनै जना विरुद्ध लागु औषध मुद्दामा मुद्दा दर्ता गरि अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ । 

मन्टु ७-८ वर्ष अगाडी भारतमा मोटरसाइकल चोरीमा समेत पक्राउ परि जेलनेल भोगेका व्यक्ति हुन । तिनको अरेस्टले लागु औषध कारोबारी तथा सेवनकर्ताहरूमा त्रास फैलिएको छ । अहिले कुश्मा चोक शान्त देखिएको छ । 

त्यसैगरि प्रहरी एक्सनमा आएपछि विभिन्न मुद्दामा फरार ११ जना अभियुक्तलाई पनि पक्राउ गरि आवश्यक कारबाहीका लागि जिल्ला अदालतलाई बुझाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ