arrow

पर्वतको मालढुङ्गा-बेनी सडक दैनिक पाँच घण्टा बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
Maldhunga-beni sadak.jpg

पर्वत । मालढुङ्गा-बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने भएको छ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने यो सडक स्तरोन्नति गर्ने भन्दै बन्द गर्न लागिएको हो । 

मालढुङ्गा-बेनी सडक निर्माणको कामलाई सहजरूपमा गति दिन यही पुस १५ गतेदेखि २०७८ माघ १४ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवत-जावत बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । 

सवारी साधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी-जोमसोम-कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स-खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय व्यवस्थापनको प्रस्ताव गरेर पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।

सवारी आवतजावत बन्द गरिएको अवधिमा सवारी साधनको डाइभर्सन र व्यवस्थापनका लागि सुरक्षा निकायलाई प्रशासानले निर्देशन दिएको छ । 

एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजीकरण गरिने भएको छ ।

मालढुङ्गा-बेनी सडक बन्द भएको समयमा बेनी-रत्नेचौर-बागलुङ हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ । 

मालढुङ्गादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार, सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ । 

मालढुङ्गा-बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ । 

विसं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले विभिन्न खण्डमा मजदुर र उपकरण परिचालन गरेर सडक विस्तार, पर्खाल र नाली निर्माणको काम गरिरहेको छ ।

हाल कालोपत्रेसहित करिब छ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्रे गर्न लागिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ