काठमाडौं । डिसेम्बर २७ मा बलिउड स्टार सलमान खानको जन्मदिन हो । डिसेम्बर २७ मा सलमान ५६ औं जन्मदिन मनाउदैँछन् । तर सोही अवसरको तयारीमा रहेका सलमान खानलाई सर्पले टोकेको छ । पानभेल फार्म हाउस पुगेका सलमानलाई सर्पले डसेको हो ।
सर्पले टोकेपछि सलमान खानलाई तत्कालै मुम्बईको महात्मा गान्धी मिशन अस्पतालमा भर्ना गरिएको थियो । भारतीय सञ्चार माध्यमका अनुसार सलमान खानलाई अविषालु सर्पले टोकेको थियो । सलमान खानको स्वास्थ्यमा कुनै खतरा नरहेको जनाइएको छ ।
अस्पतालमा उपचारपछि अभिनेता बिहान ९ बजे आफ्नो फार्म हाउस फर्किएका छन् । अहिले सलमानको अवस्था ठिक रहेको बताइएको छ । सलमानको जन्मदिनमा कुनै ठुलो सेलिब्रेशन हुन्छ कि हुँदैन भन्न गाह्रो छ ।
बलिउड अभिनेता सलमान खानलाई मनपर्ने ठाउँहरू मध्ये पानभेल फार्म हाउस एक हो । यहाँ उनी धेरै समय बिताउँछन्। लकडाउनका बेलामा पनि उनी यही फार्म हाउसमा बसेका थिए । सलमानले यहाँ खेती गर्ने ठाउँ बनाएका छन् । हालै लकडाउनको समयमा सलमान आफ्नो फार्म हाउसमा धान खेती गर्दै थिए। यस फार्म हाउसमा चारैतिर हरियाली छाएको छ ।