arrow

पोखरामा गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
drama-gandaki.jpg

पोखरा । पोखरामा दोस्रो गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव हुने भएको छ । ‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ मूल मन्त्रसाथ हुने महोत्सव आगामी माघ ११–१५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना गरिने भएको छ ।

महोत्सवमा सहभागी हुन विभिन्न छनोट चरण पार गर्नुपर्नेछ । पहिलो चरणमा नाटकको कथावस्तु अध्ययन गरिने र त्यसका लागि पुस ३ गतेभित्र नाटकको कथावस्तु पठाउनुपर्ने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए ।

कथावस्तुको अध्ययनपश्चात् केही सीमित नाटक दोस्रो चरणका लागि छनोट गरिने उनले बताए । अध्यक्ष परिवर्तनका अनुसार दोस्रो चरणमा छानिएका नाटकको रिहर्सल हेरेर निर्णायक मण्डलले अन्तिम चरणको लागि छनोट गर्नेछ । यसरी अन्तिम चरणमा छनोट भएका नाटक गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ ।

उत्कृष्ट नाटक छनोटका लागि वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति बनाइएको छ ।

समितिका सदस्यमा कलाकार माओत्से गुरुङ र प्रमिला तुलाचन छन् । महोत्सवमा गण्डकीका माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन सक्नेछन् । 

निर्णायक संयोजकसमेत रहेका वरिष्ठ कलाकार घिमिरेले पछिल्लो क्रममा रंगमञ्चतर्फ स्कुलका विद्यार्थीको आर्कषण बढ्न थालेको बताए । 

पोखरा महानगरीय स्तरमा गर्दै आएको नाटक गत वर्ष प्रदेश स्तरमा गर्दा झनै उत्साहपूर्ण भएको र हरेक पटक विद्यार्थी तथा अभिभावकको चासो र आकर्षण बढ्दै गएको उनले बताए ।

महोत्सवमा गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानले सहकार्य गर्ने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ