arrow

किन शुरुमै सचिव चिढ्याइन् सेलिब्रिटी मन्त्री झाँक्रीले ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
ramkumari-jhakri-ramesh-singh.jpg

काठमाडौं । सेलिब्रेटी मन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयका सचिवसहित केही उच्च कर्मचारीहरूलाई शुरुमै चिढ्याएकी छिन् । शहरी विकास मन्त्रालय स्रोतका अनुसार शहरी विकास मन्त्रालयका सचिव डा.रमेश सिंह अहिले मन्त्रीसँग खुशी छैनन् । 

शहरी विकास मन्त्रालय मातहतका कार्यालयमा सिंहले ल्याएका सबैजसो उच्च कर्मचारीहरुलाई मन्त्री झाँक्रीले फेरबदल गरेकी छिन् । पूर्व शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माको डिजाइनमा मन्त्री झाँक्रीले एकै पटक मन्त्रालयका १८ जना उच्च कर्मचारीहरूको जिम्मेवारी फेबरदल गरेको बताइन्छ । शर्मा करिब ३ वर्षअघि सचिवबाट सेवानिवृत्त भएका थिए । 

उनी नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडासँग निकट मानिन्छन् । खतिवडाले झाँक्री र शर्माबीचको कनेक्सन मिलाएको स्रोतको भनाइ छ । झाँक्रीले मन्त्रालयका उच्च कर्मचारीहरूको सरुवा छापामार शैलीबाट गराएकी थिइन् । 

‘गत कात्तिक २८ गते मन्त्रीज्यूले अर्जेंन्ट काम छ भनी आफ्नो कोठामा सचिवलाई बोलाउनु भयो । सचिव आउने बित्तिकै सरुवा सूचि देखाउनु भयो र त्यसमा हस्ताक्षर गर्न लगाउनु भयो’ मन्त्रालयका एक उपसचिव भन्छन्, ‘त्यसपछि सचिव ज्यूले नचाहँदा नचाहँदै पनि हस्ताक्षर गर्न वाध्य हुनुभयो ।’ 

झाँक्रीले सरुवा गरेका सबै कर्मचारी सचिव सिंहसँग निकट मानिन्छन् । ‘१८ जना उच्च कर्मचारीहरुको जिम्मेवारी फेरबदल भएपछि मन्त्रालयमा अहिले एक किसिमको सन्नाटा छाएको छ’ मन्त्रालयका अर्का कर्मचारी भन्छन् ।

मन्त्री झाँक्रीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका प्रमुख रविन्द्र बोहरालाई मन्त्रालयमा तानेर उनको ठाउँमा समितिका सहमहानिर्देशक दिलिप भण्डारीलाई जिम्मेवारी दिएकी छिन् । बोहराको अगुवाइमा समितिले दुई वर्षदेखि रोकिएको गोकर्णदेखि गुह्येश्वरीसम्मको बागमती सौन्दर्यकरणको कामलाई निरन्तरता दिन कालिका रेन्कन लामा जेवीसँग सम्झौता गरेको थियो । सो सम्झौता भएको एक हप्ता नपुग्दै बोहराको सरुवा गरियो । सो कम्पनीले दुई हप्ता भित्रबाट काम शुरु गर्ने लिखित प्रतिबद्धता विकास समितिसँग गरेको छ । 

यसबाट बोहरा पनि मन्त्रीसँग चिढिएको स्रोतको भनाइ छ ।  झाक्रीले भवन विभागका तत्कालिन महानिर्देशक नवराज प्याकुरेललाई मन्त्रालयमा तानेकी छिन्  । त्यस ठाउँमा उनले पदम मैनीलाई ल्याएकी छिन् । 

झाँक्रीले रोशन श्रेष्ठलाई नयाँ शहर आयोजना समन्वय इकाई बबरमहलबाट सरुवा गरी संघीय अयोजना कार्यान्वयन इकाई मोरङमा लगेकी छिन् । श्रेष्ठ यसअघि करिब ३ वर्षसम्म उक्त कार्यालयमै बसेका थिए । झाँक्रीले श्रेष्ठलाई पहिलकै ठाउँमा लगेकी छिन् । मन्त्रालयका कर्मचारीहरु उक्त कार्यालयलाई आकर्षक मान्छन् । 

सो कार्यालयमा कार्यरत गंगाप्रसाद यादवलाई उनले शहरी विकास तथा भवन निर्माण विभागमा लगेकी छिन् । भवन विभागमा कार्यरत हिमाल केसीलाई मन्त्रीले विभागबाट नयाँ शहर आयोजना समन्वय कार्यालयमा सरुवा गरेकी छिन् । 

मन्त्रालय स्रोतका अनुसार मन्त्रीले अब शहरी विकास मन्त्रालयका सचिव फेर्ने सोचमा छन् । सिंहको ठाउँमा उपयुक्त कर्मचारी खोजिरहेको मन्त्री निकट स्रोतले दावी गरेको छ । डेमोक्रयाट भनेर चिनिएका सिंह प्राविधिक समूहका सचिव हुन् । नेकपा (एस) का अध्यक्ष माधव नेपालसँग पनि उनको राम्रो सम्बन्ध रहेको बताइन्छ । 

मन्त्रालय स्रोतका अनुसार मन्त्री झाँक्रीले मन्त्रालयका सबै महत्वपूर्ण ठाउँमा आफू अनुकूलका कर्मचारी ल्याउन लागेकी छिन् । यसको लागि उपयुक्त कर्मचारी खोजी भइरहेको स्रोतको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ