arrow

चलचित्र ‘सत्यम’बाट मलिका महत बाहिरिन, पलको जोडी उपासना हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
Paul Shah and Upasana Singh Thakuri.jpeg

काठमाडौं। अभिनेत्री तथा मोडल मलिका महत चलचित्र ‘सत्यम’बाट बाहिरिएकी छन् । उनको स्थानमा नायिका उपासना सिंह ठकुरीले अभिनय गर्ने भएकी छन् । उनी अभिनेता पल शाहको जोडीको रुपमा देखिनेछिन् । यसमा महानायक राजेश हमालको मुख्य भूमिका रहनेछ ।

पढाई र सुटिङ्गको समयतालिका नमिल्ने भएपछि महतले चलचित्र छाडेकी हुन् । निर्माता रेशम सापकोटाले मलिकाले चलचित्र छाड्नुको कारण उनको अध्ययन नै रहेको बताए । ‘मलिकाले बीबीए अध्ययन गर्दै हुनुहुन्छ । चलचित्रको कार्यशाला गर्ने समयसम्म पढाई अनलाइनमा हुने भन्ने थियो तर सोचेभन्दा अगाडी नै कलेजको फिजिकल क्लास हुने भएपछि उहाँले समय दिन सक्नुभएन । अन्य कारण केही छैन’, सापकोटाले प्रष्ट पारे ।

निर्देशक शंकर कार्कीका अनुसार ‘सत्यम’का लागि पहिले उपासनालाई नै अफर गरिएको तर अर्को चलचित्रको छायांकन मिति जुधेपछि उनले समय दिन सकेकी थिईनन् । निर्देशक कार्कीले भने, ‘पहिले उपासनाले चाहेर पनि समय दिन सक्नुभएको थिएन तर अहिले भने उहाँको समय मिलेको छ । हामीले सहमती गरेर अगाडी बढिसकेका छौं । अब मलिकाले अभिनय गर्ने भुमिका उपासनाले गर्नुहुन्छ’ ।

उपासना पहिलो पटक चलचित्रमा राजेश हमाल र पल शाहसँग स्क्रिन शेयर गर्नका लागि निकै उत्साहित छन् । यो चलचित्रबाट आफूले धेरै कुरा सिक्न पाउने उनको विश्वास छ । चलचित्रमा अनुप विक्रम शाही र अभय बरालको पनि मुख्य भूमिका रहनेछ भने कृष्ण जोशीको पनि अभिनय रहनेछ । पर्दामा दर्शकले राजेश हमाल र अनुपको घमासान भिडन्त हेर्न पाउनेछन् । यसअघि उनीहरुले चलचित्र ‘सौर्य’ मा एकसाथ अभिनय गरेका थिए ।

चलचित्रमा हमालको चार फरक लुक्स रहनेछ । यो चलचित्रबाट महानायक राजेश हमालले चार वर्षपछि कमब्याक गर्न लागेका हुन् । यसकारण पनि ‘सत्यम्’ निर्माण अगावैदेखि दर्शकमाझ प्रतिक्षीत बनेको छ । चलचित्रमा दक्षिण भारतीय चलचित्रहरुमा उदाइरहेका कलाकार मिलन सिजापतिको पनि नेगेटिभ भूमिका रहनेछ । यो चलचित्रबाट मोक्तर खान, कैलाश रावल, नेरिस्का स्थापित, प्रिन्स प्रसिद्द सिंह, प्रविन चापागाईं, अन्विशा खड्की लगायतका अन्य कलाकारहरुले डेब्यू गर्दैछन् । यि सबै कलाकारहरु अडिशनबाट छानिएका हुन् ।

नवयुग सिनेमाको प्रस्तुतीमा बन्ने ‘सत्यम्’लाई रेशम सापकोटाले लेखेका हुन् भने सापकोटा नै चलचित्रका निर्माता हुन् । गणेश पौडेल एशोसियट निर्माता रहेको चलचित्रका सह निर्माताहरुमा श्याम मल्ल र कृष्ण जोशी रहेका छन् ।

त्यस्तै, लाइन प्रोड्युसरमा रेशम गौतम, सुबास भुर्तेल र कृष्ण अधिकारी छन् । चलचित्रमा योगेश काजीको संगीत, कुटुम्ब ब्याण्डको शीर्ष गीत र ब्याकराउण्ड म्यूजिक, गणेश पौडेलको सह संगीत, रेशम सापकोटा र बिष्णु निरिशको शब्द रचना, अन्जु पन्त, योगेश काजी, समिक्षा अधिकारी, गणेश पौडेल र राजु महर्जनको गीतमा स्वर सुन्न सकिनेछ । त्यस्तै, चलचित्रको डिओपीमा राजेश श्रेष्ठ छन् भने टेक्निकल सुपरभाईजर जीवन थापा हुन् ।

चलचित्रको प्रडक्शन हेड मनोज जोशी, प्रडक्शन डिजाईनर आशिका शर्मा, प्रडक्शन म्यानेजर राज कुमार कार्की, एशोसियट निर्देशक सुबास सुबेदी, सह(निर्देशक राम कुमार श्रेष्ठ रहनेछन् भने रामजी लामिछाने कोरियोग्राफी गर्नेछन् । कस्टयूम डिजाईन जानकी कडायतको रहेको छ भने अष्ट मान महर्जनको द्वन्द्व निर्देशन रहनेछ । मुख्य सहायक निर्देशकमा शंकर धिताल र रामशरण कोइराला छन् । चलचित्रको एक्सन सिन खिच्न निर्माण टिमले पोखरामा भव्य सेट निर्माण गरेको छ ।

यो चलचित्र माथिल्लो मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन हुने चलचित्रको इनडोरका महत्त्वपूर्ण सिनहरु छायांकन भने सेटमा खिचिनेछ । निर्देशक शंकर कार्कीका अनुसार, निर्माणधिन भव्य सेटमा हेलिकोप्टर क्रयासको दृश्यदेखि ठूला भवनहरुको दृश्यहरु छायांकन गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ