arrow

रिक्त रहेका देशहरुमा राजदूत नियुक्त गर्ने सरकारको तयारी, उपाध्याय र सापकोटाको सम्भावना बलियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
jitu-upadhaya-rupak-sapkota.jpg

अछाम । शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकारले पूर्ववत् केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका नियुक्तिहरु खारेजी गर्दै नयाँ नियुक्तिको प्रक्रियालाई तीव्रता दिएको छ । उक्त क्रममा राजदूत नियुक्ति प्रक्रियाले पनि स्थान पाएको छ । सरकारले यसअघि भारत, अमेरिका र बेलायतमा नयाँ राजदूत सिफारिस गरेको छ भने बाँकी देशमा पनि सिफारिस गर्ने तयारी गरेको छ । 

भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरिसकेको छ । सरकारले पछिल्लो समय अमेरिका, चीन र भारतका राजदूतलाई मन्त्रीस्तरीय सुबिधा दिने गरेको थियो । 

अब चीन लगायत अन्य देशका राजदूत नियुक्त हुने बताइएको छ । चीनका लागि नेपाली राजदूतमा चीनबाटै अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरेका सभामुख अग्निप्रसाद सापकोटाका छोरा रुपक सापकोटालाई पठाउनेबारे छलफल भइरहेको माओवादी केन्द्र निकट स्रोतले जनाएको छ ।

चीनमै भूराजनीतिको विषयमा अध्ययन गरेका सापकोटाले कात्तिक ७ गते परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप कार्यकारी निर्देशकबाट राजीनामा गरेका छन् । युवा कुटनीतिज्ञ सापकोटाले चीनको रेनमिन विश्वविद्यालदययबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन् ।

नेपाली कांग्रेसले भने आफ्नो कोटाबाट केही नयाँ अनुहार पठाउने सम्भावना रहेको छ । राष्ट्रिय योजना आयोगमा युवा पुस्ताका डा. विश्व पौडेललाई पठाएर सरकारको प्रशंसा पाएकोमा अहिले राजदूतमा पनि युवाबाट सक्षम र क्षमता भएका लाई मौका दिने सम्भावना बलियो देखिएको छ । 

राजदूत नियुक्तिका लागि गृहकार्य भइरहेको प्रधानमन्त्री कार्यालय श्रोतको भनाइ छ । गठबन्धनको सरकार भएकाले दलहरुले आफ्नो पार्टीबाट नाम सिफारिस गर्ने र त्यही आधारमा नयाँ राजदूत नियुक्त गरिने भएको हो । 

कांग्रेसले सुदूरपश्चिमको दुर्गम जिल्ला अछामलाई यसपटक स्थान दिने सम्भावना देखिएको छ । अछाममा जन्मिएका डा. जितु उपाध्यायलाई राजदूत बनाउन सक्ने आँकलन गरिएको छ । 

विभिन्न देशमा अध्ययन र अध्यापन गरेका डा. उपाध्याय पार्टी भित्र पनि निकै सक्रिय रहेका कारण उनलाई राजदूतमा पठाउन सक्ने बढी सम्भावना रहेको बुझिएको छ । 

रुस, बंगलादेश र दक्षिण कोरियामा अध्ययन गरेका डा. उपाध्याय पार्टी राजनीतिसँगै कुटनीतिक क्षेत्रमासमेत दख्खल राख्ने मान्छे भएका कारण उनको सम्भावना बढी रहेको कांग्रेस नेताहरुको बुझाइ छ । 

डा. उपाध्याय क्यानाडाको जनसम्पर्क समितिमा उपसभापति पदमा रहेर काम गरिरहेका छन् भने कांग्रेसको १३ औँ महाधिवेशनमा क्यानाडाबाट महाधिवेशन प्रतिनिधिसमेत हुन् । 

नेविसंघको स्कुल इकाइबाट राजनीतिमा सक्रिय रहेका डा. उपाध्याय २०६२ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियू सदस्य निर्वाचित भएर काम गरेका थिए । २०६२–६३ को जनआन्दोलनमा समेत अग्रपंक्तिमा रहेर काम गरेका उपाध्यायले कोरियामा समेत जनसम्पर्क समितिमा समेत काम गरेका थिए ।

सरकारी छात्रवृत्तिमा छनेट भइ अध्ययन गरेका डा. उपाध्यायले दक्षिण कोरियाबाट खाद्य प्रविधिमा विद्यावारिधि गरेका छन् । रुसमा खाद्य प्रविधिमा स्नातकोत्तर गरेका उपाध्यायले बंगलादेशबाट जनस्वास्थ्यमा समेत स्नातकोत्तर गरेका छन् । 

हाल क्यानाडामा रहेका डा. उपाध्याय विभिन्न देशमा गएर अनुसन्धान र ज्ञान प्रस्तुत गरिसकेका छन् ।  उनलाई सुदुरपक्षिमको मात्र नभइ देशकै निकै सम्भावना बोकेको र देशलाई केही गर्न सक्ने युवाको रुपमा हेरिएको छ । उनीसँग रुसी, हिन्दी, कोरियाली, अंग्रेजी र बंगाली भाषाको दख्खल रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ