arrow

बागमतीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने

प्रदेशसभाको बैठक कात्तिक २२ गते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
rajendra-pandey-bagmati-cm.jpg

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने भएका छन् ।  कात्तिक २२ गते बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने छन् । 

 उक्त बैठकमा नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । उनका अनुसार, मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा आइतबार नै दर्ता भइसकेको छ । 

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते राजीनामा दिएसँगै स्थगित भएको प्रदेशसभाको बैठक  कात्तिक २२ गते बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री कार्यालयबाट प्राप्त मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको पत्रमा कात्तिक १२ गते उल्लेख गरिएको भए पनि संसद् सचिवालयमा कात्तिक १४ गते मात्रै दर्ता भएको प्रवक्ता अमात्यले बताए ।

सरकारको नेतृत्व गरेको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोहीअनुरूप मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुहुने भएको हो । मुख्यमन्त्री पाण्डे यही कात्तिक ११ गते नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार माओवादी केन्द्र, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।  

बागमती प्रदेशसभामा हाल १०९ सदस्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ