arrow

चालक अनुमति पत्रको अनलाइन फारम पुनः अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
smart_license.jpg
फाइल तस्विर।

काठमाडौं। चालक अनुमति पत्रको अनलाइन फारम सुरु भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरुद्ध भएको छ । कात्तिक ८ गते चालक अनुमति पत्रको अनलाइन आवेदन खुलाइएको भए पनि १० गते नै समस्याका कारण स्थगित भएको विभागले जनाएको छ ।

सफ्टवेयरमा समस्या आएपछि अहिले प्राविधिकले मर्मत गरिरहेको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताए । जतिसक्दो चाँडो त्यसको समस्या समाधान गरेर सेवा चालू गर्न खोजिएको उनले बताए । उनले भने, “हामीले जतिसक्दो चाँडो भनेका छौँ कति दिन लाग्छ भन्न सकिँदैन ।”

अनुमति पत्रका लागि आवेदन गर्दा नयाँ आवेदन र अर्को अनुमति पत्र लिइसकेकाको वर्ग थपिने गरिएको छ । नयाँ अनुमति पत्रका लागि आवेदन दिँदा समस्या भए पनि अर्को वर्ग थप्नेमा सबै विवरण भरेर फाइल बुझाउने समयमा समस्या देखिएको प्रवक्ता डा भुषालले बताए । एकै पटक धेरै सेवाग्राहीले आवेदन भर्न खोजेकाले समस्या देखिएको हुनसक्ने उनले बताए ।

नियमित रूपमा चालू नभएको सेवा खुलाउनासाथ सेवाग्राहीको चाप हुने गरेको छ । विगतमा पनि अनलाइन फारम भर्दा पनि समस्या भइरहेको थियो । अहिलेको आवश्यकताअनुसार त्यसको क्षमता नभएको हुनसक्ने भन्दै प्राविधिकले ‘अपडेट’ गरिरहेको उनले बताए ।

कोभिडका कारण झण्डै डेढ वर्ष पहिलेदेखि अनुमति पत्रको परीक्षा नियमित भइरहेको छैन । विसं २०७६ चैतदेखि सरकारले जारी गरेको बन्दाबन्दीका कारण परीक्षा स्थगित गरिएकामा झण्डै १० महिनापछि अनलाइन फारम खुलाइएको थियो ।

त्यो खुलाइएको केही समयपछि नै पुनः दोस्रो लहरका कारण पुनः सेवा स्थगित भयो । गत वैशाखदेखि काठमाडौं उपत्यकाका तीनलगायतका जिल्लामा निषेधाज्ञाका कारण सेवा सञ्चालन हुनसकेको थिएन । सरकारले असारदेखि नै अरू क्षेत्र खुलाएको भए पनि यातायात व्यवस्था विभागले सङ्क्रमण बढ्न सक्ने भन्दै अनुमति पत्र खुलाएको थिएन । उपत्यकालगायत देशभरमा अनुमति पत्र लिन चाहनेको सङ्ख्या धेरै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ