arrow

नाम्चेमा बसेर सीमा प्रशासन हाँकिरहेकी सुजन

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ कार्तिक १३ शनिबार
Sujan-Bardewa-namche.jpg

काठमाडौं। नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत सोलुखुम्बु जिल्लाको नाम्चेमा सीमा प्रशासन कार्यालय हाँकिरहेकी सुजन कुमारी बर्देवा हक्की अधिकृतका रूपमा परिचित छिन्। उनले दंशैको समयमा नाम्चे बजारमा बजार अनुगमन गरेर मूल्य सुची एवं मिति सकिएका समानहरू जफत गरेर एउटा हक्की स्वभावको परिचय दिएकी छिन्।

यसअघि यसरी बजार अनुगमन भएको याद नभएको स्थानीय व्यवसायीहरू बताउँछन्। उनले स्थानीय व्यवसायी एवं जनप्रतिनिधिहरूसँग समन्वय गरेर उक्त कार्य गरेको बत्ताइन्। सुरुमा केही व्यवसायीले नराम्रो माने पनि उनले सम्झाउँदै गएपछि अहिले सबैले उनको सम्मान गर्न थालेका छन्।

उनले नाम्चे गएपछि अनलाइन नागरिकता दिने काम  सुरु गरेकी छिन। यसअघि हस्तलिखित नागरिकता वितरण हुने गरेको थियो। मिति २०७८।०६।१२ गतेबाट  सीमा प्रशासन कार्यालय नाम्चेबाट नागरिकता सूचना व्यवस्थापन प्रणाली (CIMS) मार्फत कम्प्युटराईज नागरिकता वितरण गर्न थालिएको हो । उनको यो अग्रसरताले स्थानीय अगुवाहरू पनि खुसी छन्। 'अब नागरिकता हरायो भने खोज्ने झन्झट रहँदैन' एक स्थानीयले भने।

सुजनको योजनामा पुराना नागरिकताहरू पनि अब कम्प्युटरमा अभिलेखीकरण गर्ने रहेको छ। यसो गर्न सकेमा यदि नागरिकता हराएमा स्थानीयहरूले अनावश्यक दुख पाउँदैनन्। उनको योजना त राम्रो छ तर त्यहाँ कम्प्युटर अपरेटरको दरबन्दी भए पनि कर्मचारी नभएका कारण उक्त काम अघि बढ्न सकिरहेको छैन।

मन्त्रालयले केही समयमा कम्प्युटर अपरेटर त्यहाँ पठाउने आश्वासन दिएको उनी बताउँछिन्। यदि कम्प्युटर अपरेटर आएको खण्डमा उनको नागरिकता अभिलेखीकरण गर्ने योजना अघि बढ्ने छ।

स्थानीय महिला समूह पनि महिला अधिकृत आएपछि उनलाई सहयोग गर्ने र हातेमालो गर्न थालेका छन्। स्थानीय क्लब एवं समूहहरूमा पनि उनीले ऊर्जा भर्ने काम गरेको स्थानीय बताउँछन्।

नेपाल सरकारकी अधिकृत सुजन नाम्चे सरुवा हुनु अघि अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा कार्यरत थिइन् । पाँच वर्षीय र ११ महिनाका दुई छोरा लिएर नाम्चे बसिरहेकी सुजनले आफ्नो ठुलो छोरालाई त्यहीँको विद्यालयमा भर्ना गरेकी छिन्। उनलाई उनका पतिले सघाइरहेका छन्। स-परिवार नाम्चे बसेर काम गर्नु धेरैको कल्पनाभन्दा बाहिरको कुरा हुने गरेको छ।

उनको निर्णय र आँटलाई उनका पतिले सहज रूपमा लिँदै उनलाई त्यहीँ बसेर सहयोग गरिरहेका छन्। उनी भन्छिन् ' तीन महिना भयो यता आएको, यतै रमाइलो लाग्न थालेको छ। काठमाडौंको धुवाँ धुलो, गाडीको हल्ला भन्दा यहाँको शान्ति मन पर्न थालेको छ।'

तेह्रथुमको साबिकको छातेढुंगा गाविस जन्मेर त्यहीँबाट एसएलसी दिएपछि उच्च अध्ययनका लागि कठमाडौं आएकी सुजनले तीन विषयमा स्नातकोत्तर गरेकी छिन् ।

पद्मकन्या कलेजबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेकी सुजनको पढ्ने इच्छा त्यहीँ रोकिएन । उनले राजनीति शास्त्र र जनप्रशासन विषयमा समेत स्नातकोत्तर गरेकी छिन्। उनको त्यही अध्ययनशीलताले लोकसेवामा नाम निकालेर गृह प्रशासनमा सामेल भएकी हुन्। उनले अध्यागमन विभाग, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै सीमा प्रशासन कार्यालय प्रमुखको जिम्मेवारीको यात्रा गरिरहेकी छन्।

'सरकारी जागिरमा जता भन्यो त्यतै जान पर्‍यो। जहाँ गए पनि जनताको सेवा गर्ने हो' उनको स्पष्ट सोच रहेको छ। विभिन्न कार्यालय र स्थानको अनुभवले आफूमा समाज, देश प्रतिको बुझाइ झनै खुल्दै जाने उनको बुझाइ रहेको छ। विभिन्न किसिमका मानिसहरूसँगको भेटघाट, रहन-सहन, संस्कृति, बोलीचालीले आफूलाई परिपक्व पार्दै लगेको उनको अनुभव छ।

उनको जिम्मेवारीमा शान्ति सुव्यवस्था कायम गर्ने ,तिब्बती शरणार्थीको आवागमन तथा गतिविधि व्यवस्थित गर्ने, नागरिकता वितरण, उपभोक्ता हित संरक्षण, बजार व्यवस्थापन अनुगमन, विपद् व्यवस्थापन आदि रहेका छन्।

पर्वतारोही र पदयात्रीहरूको आवतजावत भइरहने क्षेत्र हुनाले उनको जिम्मेवारी अलि बढी नै देखिन्छ। हिमाली क्षेत्र भएको हुनाले हिम पहिरो र त्यसले पुर्‍याउने क्षतिका बारेमा चनाखो हुनुपर्ने एवं विश्वभरिका पर्वतारोही र पदयात्रीहरू आउने क्षेत्र भएका हुनाले पनि शान्ति सु-व्यवस्था कायम गर्नु चुनौती रहेको उक्त क्षेत्रमा उनले कुशलतापूर्वक काम गरिरहेकी छन्।

सरकारी कर्मचारीहरू दंशै बिदामा छुट्टी लिएर अगाडी नै घर गएको समाचार आइरहँदा सुजनले भने नाम्चेमै आफ्नो परिवारसँग दंशै मनाएकी छन्। उनले त्यहीँ जमरा उमारेकी थिइन्। चिसो ठाउँमा जमरा पहेँलो नहुने रहेछ त्यसैले हरियो जमरा नै प्रयोग गरेको हाँस्दै बत्ताइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ